बिर्तामोड ।
झापामा तेस्रो मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शरीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडमा सञ्चालित बडी ग्यारेजको आयोजनामा आगामी असोज २० र २१ गते बिर्तामोडमा राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो ।
झापामा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता अन्तर्गत पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यसअघि पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने बडी ग्यारेजका सञ्चालक तथा प्रतियोगिताका संयोजक राम दाहालले जानकारी दिए । उनका अनुसार महिलातर्फ भने खुला प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि अघिल्लो संस्करणमा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो । दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछन् । पाँचौं हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौं हुनेले नगद ५० हजार रुपैयाँ पाउने सचिव हिमाल खरेलले बताए ।
यसैगरी कोशी प्रदेशमा पहिलोपटक हुन लागेको महिला प्रतिस्पर्धाका प्रथम हुने खेलाडीलाई नगद ७५ हजार, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद सात हजार र तेस्रो हुने खेलाडीले नगद पाँच हजार रुपैयाँ पाउनेछन् । बाँकी तीन जनालाई ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा देशभरबाट दुई सय जना खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
यसअघि तेस्रो संस्करण गत २०८२ भदौ २७ र २८ गते हुने तय भएपनि जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । सम्पूर्ण तयारी पूरा भएपनि सोही करणले प्रतियोगिता स्थगित भएको आयोजकले जनाएको छ ।
दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए । पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकार सुवास भट्टराईले पनि प्रतियोगिताका सफलताको शुभकामना दिदै सवैले साथ र सहयोग दिनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन पत्रकार रमेश तिवारीले गरेका थिए ।















