बिर्तामोड । 

पत्रकारहरुलाई सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत बिभिन्न आक्षेप लगाएर चरित्र हत्या गर्ने झापाको हल्दिबारी गाउँपालिका–१ का नितेश ओली (नवराज) लाई तत्काल पक्राउ गरी कारवाही गर्न पत्रकार महासंघ झापाले माग गरेको छ । 

नेपाल पत्रकार महासंघ झापा शाखा तथा संस्थाका  अध्यक्ष र पदाधिकारीहरुलाई लक्षित गर्दै केही समययता पत्रकारहरुको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री सम्प्रेषण गरिरहेको साथै ज्यान लिने धम्की दिइरहेको घटनाप्रति महासंघ झापा, कोशी प्रदेश केन्द्रले छुट्टा–छुट्टै बिज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

विभिन्न अपराधमा संलग्न भई हाल फरार रहेका ओलीले पत्रकारिता पेशा र क्रियाशील पत्रकारहरूलाई बदनाम गराउने उद्देश्यले भइरहेका यस प्रकारका गतिविधि निन्दनीय साथै प्रेस स्वतन्त्रता विरोधी रहेको महासंघको ठहर छ । यस बिषयमा महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिले समेत सम्वन्धित निकायको ध्यानाकर्षण गराइसकेको छ ।

पत्रकारिता पेशासंग आवद्ध नरहेका ओलीले यसअघि पत्रकार हुँ भन्दै विभिन्न सञ्चारमाध्यमको नाम लिएर उद्योगी व्यवसायीहरुसंग रकम माग्ने, विभिन्न विषय उठाएर हैरानी दिएको विषयमा महासंघ झापा र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । 

त्यस विषयमा महासंघ झापाले विज्ञप्तिमार्फत ओलीलाई सचेत गराएको थियो । त्यसपछि ओलीले लगातार जस्तो महासंघ झापा तथा पदाधिकारीहरुविरुद्ध तथ्यहीन, भ्रामक, कपोलकल्पित विषय उठाएर मानमर्दन गर्दै आएका छन् । यस विषयमा महासंघ झापाले २०८३ असार १५ गते साइबर अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रुपले जाहेरी दर्ता गरी जिल्ला अदालतबाट ओलीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।  

अदालतबाट पक्राउ पुर्जी जारी भई फरार भएका ओलीले कानुनलाई खुला चुनौती दिँदै सामाजिक सञ्जालमार्फत महासंघका पदाधिकारीमाथि निरन्तर गालीगलौज, चरित्रहत्या, आधारहीन आरोप, अफवाह फैलाउने र धम्की दिने जस्ता कार्य भइरहनु अत्यन्त गम्भीर विषय भएको महासंघ झापाका सचिव प्रदीप परियारद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । विभिन्न माध्यमबाट ज्यान लिने धम्की दिइनुले पनि सुरक्षा चुनौति थपिएको छ । । यस विषयमा महासंघ झापाले जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीको पटक पटक ध्यानाकर्षण गराइसकेको छ ।  

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै पत्रकारिता पेशाप्रति घृणा, अफवाह फैलाउने तथा पत्रकार महासंघ र पदाधिकारीहरुकै चरित्र हत्या गरिरहेको कसुरमा फरार रहेका ओलीलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको एक महिना बितिसक्दा पनि पक्राउ गर्न नसक्नुले प्रहरीको कार्य क्षमतामाथि नै प्रश्न खडा गरेको छ । 

फरार रहेका भनिएका व्यक्तिको ह्वाट्सएप, म्यासेन्जर, फेसबुक २४ सै घण्टा चलिरहेको देखिन्छ । त्यही माध्यमबाट निजले निरन्तर महासंघ तथा पदाधिकारीको चरित्र हत्या हुने सामग्री सम्प्रेषण गरिरहेका छन् । निजको सामाजिक सञ्जाल निरन्तर सक्रिय रहँदा पनि पक्राउ प्रक्रियामा भइरहेको ढिलाइप्रति महासंघले आश्चर्य प्रकट गरेको । साथै प्रहरी प्रशासनले अपराधमा संलग्न ओलीलाई हालसम्म कानुनी दायरामा ल्याउन नसक्नुले प्रहरी प्रशासनको भूमिकाप्रति नै गम्भीर शंका उत्पन्न भएको छ ।

महासंघ झापाले अभियुक्तलाई तत्काल पक्राउ गर्न, उनको सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक र अवाञ्छित गतिविधि रोक्न तथा दण्डहीनताको अन्त्य गर्न सरकारसँग जोडदार माग गरेको छ ।  प्रहरीले एक साताभित्र ओलीलाई कानुनी दायरामा नल्याए महासंघ सशक्त कदम चाल्न बाध्य हुने आज (मंगलबार) जारी विज्ञप्तिमा उल्लेख छ ।