झापा । 

 कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपाली ड्राइभरको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास बढेको छ । कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार उत्तरी कुवेतमा चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी इरानले गरेको आक्रमणमा एक नेपाली कामदारको मृत्यु हुनुका साथै ठुलो भौतिक क्षति भएको छ ।

ड्रोन आक्रमणमा मोरङको रतुवामाई नगरपालिका–९ निवासी ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको थियो । कुवेतस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी जनार्दन गौतमले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पठाइएको तामाङको शव शनिबार नै नेपाल पुगिसकेको जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका कारण कुवेत सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । इरानबाट प्रहार भएको ड्रोन तामाङ सवार गाडीमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । कुवेत सिटीबाट करिब ९० किलोमिटर टाढा, इराक सीमाक्षेत्र नजिक भएको उक्त आक्रमण चिनियाँ कम्पनीद्वारा सञ्चालित परियोजनामा काम गरिरहेका स्थानीय उपठेकेदारको सवारीसाधनलाई लक्षित गरी गरिएको कुवेती रक्षा मन्त्रालयले जनाएको छ ।

कुवेतस्थित चिनियाँ दूतावासले पीडितको परिवारप्रति समवेदना व्यक्त गर्दै निर्दोष नागरिक वा गैरसैन्य लक्ष्यहरूमाथि हुने आक्रमणको निन्दा गरिनुपर्ने चीनको अडान दोहोर्‍याएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार घटनापछि नेपाली समुदाय त्रसित र चिन्तित बनेको छ ।

कुवेत सरकारले रातिको समयमा अस्पताल, होटल तथा अन्य सार्वजनिक स्थलमा आवश्यकबाहेक बाहिरी बत्ती नबाल्न निर्देशन दिएको छ । ग्यास तथा कच्चा तेल उत्पादन केन्द्र इरानको निशानामा पर्न सक्ने आकलन गर्दै कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिइएको छ । अन्य क्षेत्रका कामदार भने त्रासका बीच ड्युटीमा गइरहेको बताइएको छ ।

कुवेतमा ठुलो संख्यामा नेपाली महिला कागजातविहीन अवस्थामा रहेका छन् । करिब १ लाख ८६ हजार नेपाली कार्यरत रहेको कुवेतमा १ लाख १५ हजार औद्योगिक तथा कर्पोरेट क्षेत्रमा र करिब ७० हजार घरेलु कामदारका रूपमा कार्यरत रहेको अनुमान छ । कुवेतको कुल जनसंख्याको करिब ४ प्रतिशत हिस्सा नेपालीले ओगटेका छन् । असुरक्षित क्षेत्रमा नेपालीहरू कार्यरत रहेको टिप्पणी हुने गरेको छ । कुवेतस्थित नेपाली दूतावासले नियमित रूपमा सुरक्षा निर्देशन जारी गर्दै नेपाली कामदारहरूलाई शान्त रहन, उच्च जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न आग्रह गरेको छ ।