• रन्जित परियार

झापा । 

झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सश्मित पोखरेल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निसा मेहतासँग झापा क्षेत्र नं. २ को शिक्षा तथा स्वास्थ्य क्षेत्रको समग्र विकासका विषयमा त्रिपक्षीय भेटवार्ता गरेकी छन् । 

भेटवार्ताका क्रममा मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने, अस्पतालको पुरानो भवन मर्मत तथा स्तरोन्नति गर्ने, बर्न डिपार्टमेन्ट (दाह उपचार विभाग) स्थापना गर्ने, अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तार गर्ने विषयमा विस्तृत छलफल गरिएको छ।

त्यसैगरी, नर्सिङ कलेज सञ्चालन भएपछि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको ज्ञान र अनुभवलाई शिक्षण तथा प्रशिक्षणमा उपयोग गर्दै विद्यार्थीहरूलाई इन्टर्नशिपको अवसर उपलब्ध गराउने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने तथा अस्पतालको सेवाको गुणस्तर अभिवृद्धि गर्ने विषयमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

छलफलमा झापा क्षेत्र नं. २ अन्तर्गत रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको पूर्वाधार विकास, सेवा विस्तार र गुणस्तर सुधारका लागि संघीय सरकार, शिक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सकारात्मक छलफल भएको सांसद रानाले बताइन् ।

सांसद  रानाले झापा क्षेत्र नं. २ का नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ सम्बन्धित मन्त्रालयहरूसँग निरन्तर समन्वय र पहल जारी रहने विश्वास व्यक्त गरिन् ।