झापा ।
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूको आधिकारिकता सम्बन्धी विवरण सार्वजनिक गर्दै सञ्चालक तथा कर्मचारीहरूको विवरण एक साताभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूको नाम, ठेगाना, इजाजतपत्र नम्बर, सञ्चालक तथा कर्मचारीहरूको नाम, सम्पर्क नम्बर, संस्थाको इमेल, गुगल लोकेसन म्यापलगायत सबै सूचना तथा जानकारी सार्वजनिक डोमेन अर्थात् विभागको आधिकारिक वेबसाइटमा राखिएको जनाएको छ ।
कानुनबमोजिमको प्रक्रिया पूरा गरी सक्रिय अवस्थामा रहेका इजाजतपत्र प्राप्त संस्थाहरूका बारेमा आवश्यक सम्पूर्ण जानकारी विभागको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने पनि विभागले जनाएको छ । विभागले सबै काम विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको लामो समय भइसके पनि विभागको वेबसाइटमा कतिपय म्यानपावर कम्पनीको ठेगाना, कार्यालय तथा सञ्चालकको विवरण फेला नपरेको गुनासो रहँदै आएको छ ।
विभागले वेबसाइटमार्फत नाम, ठेगाना र मोबाइल नम्बर हेर्न सकिने भएकाले सम्बन्धित संस्था इजाजतपत्र प्राप्त हो वा होइन तथा हाल सक्रिय वा निष्क्रिय अवस्थामा रहेको छ भन्ने कुरा सजिलै एकिन गर्न सकिने पनि जनाएको छ ।


















