झापा । 

सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।  ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगी सम्बन्धी उजुरी दिन सकिने भएको छ । अनलाइनमार्फत उजुरी दिने मात्रै होइन, त्यो उजुरीको कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने समेतको विस्तृत जानकारी अनलाइनबाटै थाहा पाइने भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगीएका श्रमिकहरूको समस्या समाधान गर्न अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो । यही साउन १ गतेदेखि सुरु भएको उक्त पोर्टलबारे जानकारी लिन श्रममन्त्री रामजी यादव मंगलबार बिहान वैदेशिक रोजगार विभाग पुगेका थिए ।

वैदेशिक रोजगारको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न अनलाइन पोर्टलको सेवा सुरु गरिएको मन्त्री यादवले बताएका छन् । उनका अनुसार सरकारले वैदेशिक रोजगारीका नाममा ठग्दै आएका जो सुकैलाई कानुनी दायरामा ल्याउने बताउँदै पीडितलाई यथाशीघ्र न्याय दिन अनलाइन पोर्टल आवश्यक रहेको छ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन उजुरी पोर्टलमा पीडितले आफ्नो मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू संकलन गरेर उजुरी पेस गर्नुपर्छ । पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनुका साथै उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था समेत मिलाइएको छ ।

उक्त सन्देशमा उपलब्ध गराइएको ‘ट्र्याकिङ कोड’ प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्ने व्यवस्था उक्त प्रणालीमा छ । विभागका अनुसार साउन १ गतेदेखि पूर्ण रूपमा लागू भएको उक्त प्रणालीमार्फत चार दिनमा १४ वटा उजुरी दर्ता भएको छ । अनलाइन उजुरी दर्ता गर्ने प्रणालीको प्रयोगमा बानी विस्तार गर्न कर्मचारीले समेत अभ्यास गरिरहेका छन् ।