झापा । 

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मन्त्रालयका सचिव डा. दीपक काफ्लेले वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया नरोक्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई आग्रह गरेका छन् । वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा उडान कटौती भई हवाई टिकट अत्यधिक महँगो हुँदा विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट कामदार उडाइएको विषयमा ५ सय ९८ म्यानपावर कम्पनीलाई कारबाही गरेकी थिइन् ।

उक्त कारबाहीको निर्णय सच्याइदिन संघले आग्रह गर्दा आफूले निर्णय सच्याउन नसक्ने भन्दै जरिवाना तथा सचेत गराउने कारबाहीमा चित्त नबुझेको भए ३५ दिनभित्र श्रम मन्त्रालयमा पुनरावेदन गर्न भनेकी थिइन् । महानिर्देशक आचार्यको उक्त भनाइपछि सेवाशुल्क परिमार्जन र अन्य नीतिगत सुधार नभएसम्म कामदार नपठाउने धारणा बनाएर संघको प्रतिनिधिमण्डल मंगलबार मन्त्री यादव र सचिव डा. काफ्लेलाई भेट्न मन्त्रालय पुगेको थियो ।

संघले झन्डै ६ सय म्यानपावर कम्पनीलाई कारबाही गर्ने निर्णयले व्यावसायिक स्वतन्त्रतामाथि आघात पुगेको भन्दै कठोर र अव्यावहारिक प्रशासनिक रवैया यथावत् रहे वैदेशिक रोजगार ऐन संशोधन तथा सेवाशुल्क परिमार्जन नहुँदासम्म कामदार नपठाएर पर्खिने नीति लिन आन्तरिक छलफल सुरु गरेको छ । संघले सोमबार वैदेशिक रोजगार विभागकी महानिर्देशक आचार्यलाई त्यस सम्बन्धी जानकारी दिएको थियो । मंगलबार मन्त्री र सचिवसँगको छलफलमा पनि सोही विषय दोहोर्‍याएको थियो ।

संघको धारणा सुनेपछि मन्त्री यादव र सचिव काफ्लेले व्यवसायीमाथि गरिएको कारबाहीबारे महानिर्देशक आचार्यसँग बुझ्ने भन्दै संघसँग समय मागेको संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिए । बुधबार मन्त्री यादव संसद्मा उपस्थित हुनुपर्ने भएकाले त्यसपछि मात्रै महानिर्देशक आचार्यसँग छलफल गर्ने जानकारी दिएको भन्दै महासचिव डाँगीले त्यतिन्जेलसम्म संघले घटक संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेर सेवाशुल्क परिमार्जन र ऐन संशोधन नहुँदासम्म कामदार पठाउन रोक्ने विषयमा साझा धारणा तय गर्नेबारे छलफल चलाउने योजना बनाएको पनि बताए ।

विभागले असार २६ गते भारतीय विमानस्थलबाट कामदार उडाएको र विवरण नबुझाएको भन्दै ५ सय ९८ म्यानपावर कम्पनीलाई सचेत गराएको थियो । त्यसमध्ये ८ वटा कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना समेत गरिएको थियो ।