शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाका पाँँच जना खेलाडी सम्मानीत भएका छन् । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा आज (सोमवार) नगरको सभाहलमा आयोजित कार्यक्रममा पाँच बिधाका खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानीत हुने खेलाडीहरुमा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बिक्रम मेचे, क्रिकेटका आइसिसि लेबल १ का कोच तथा अम्पायर विनित बाँस्तोला, पूर्व राष्ट्रिय फुटबल खेलाडी देवेन्द्र तामाङ, तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक लक्ष्मी राजबंशी र राष्ट्रिय उसु निर्णायक तथा प्रशिक्षक पुजा खवासलाई छन् ।
सम्मानीत ब्यक्तित्वहरुलाई जनही नगद २१ हजार पुरस्कार र प्रमाणपत्रसहित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर उप–प्रमुख खड्गमाया पराजुली, झापा जिल्ला फूटवल संघका अध्यक्ष भगिरथ आले (मामा), अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले सम्मान गरेका हुन् ।
सोही कार्यक्रमकाबिच गौरादहमा सम्पन्न १६ ओैं राष्ट्रपति रनिङ शिल्ड’ खेलकुद प्रतियोगितामा बिजेता ५६ जना खेलाडीहरुसहित ३० जना शिक्षक र अफिसियललाई पनि नगदसहित सम्मान गरिएको थियो ।
अर्जुनधारा नगरपालिका लगातार ४ पटक राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन हो । अर्जुनधाराले २२ स्वर्ण, ५ रजत, १४ काश्य पदकसहित जिल्ला च्याम्पियन बनेको छ । खेलाडीलाई नगरप्रमुख बलदेबसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रमुख अतिथि गोम्देनले सम्बोधन गर्दै नगरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने माध्यम खेलकूद भएको बताए । उनले खेलकूदले अनुशासन सिकाउने र स्वास्थ्य बनाउने भएकाले पनि खेलकूद सवैका लागि अपरिहार्य रहेको बताए । नगरले खेलकूद प्रवर्धनका लागि नगरको स्रोत र साधनले भ्याएसम्म गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य तीलक योन्जनले गरेका थिए भने सञ्चालन सचिव खगेन्द्र लिङ्देनले गरेका थिए ।


















