झापा ।

राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले आज जारी गरेको सूचना अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते  राहदानी सम्बन्धी सेवा बन्द रहनेछ ।

विभागले असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित हुने र विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु हुने जानकारी दिएको हो । यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो ।

यद्यपि, राहदानीसम्बन्धी अन्य सेवा बन्द रहेपनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ । मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी सङ्कलन गर्नसक्ने विभागले जनाएको छ । विभागका अनुसार, आगामी असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी भइरहेको छ ।