झापा ।

मलेसियाको जोहोर राज्यमा कार्यरत एक नेपाली महिला कामदारको शंकास्पद अवस्थामा मृत्यु भएको घटनाले यहाँ रहेका नेपाली समुदायमा त्रास र चासो बढाएको छ । मृतक इलामको माइजोगमाई गाउँपालिका–४ ठेगाना भएकी  मन्जु तामाङ रहेको प्रारम्भिक रूपमा खुलेको छ । प्रहरीले भने पोस्टमार्टम तथा औपचारिक सनाखतपछि मात्रै एकिन हुने जनाएको छ ।

तामाङ गत शनिबार साथीको कोठामा जाने भन्दै आफू बसेको स्थानबाट निस्किएकी थिइन् । त्यसपछि सोमबार उनले साथीहरूलाई मेसेज पठाउँदै आफू अपरिचित व्यक्तिसँग ठोक्किँदा ती व्यक्तिको आइफोन फुटेको, क्षतिपूर्ति नतिरेसम्म आफूलाई नछोड्ने भन्दै बन्धक बनाएको र तत्काल आर्थिक सहयोग आवश्यक परेको जानकारी दिएकी थिइन् । उनको नम्बरबाट लगातार यस्ता सन्देश आउन थालेपछि साथीहरूले उनी कार्यरत कम्पनीलाई जानकारी गराएका थिए । त्यसपछि कम्पनीले मलेसियाली प्रहरीमा उजुरी दर्ता गराएको बताइएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा बिहीबार तामाङको नाममा मलाका राज्यस्थित एक होटलमा कोठा बुक गरिएको खुलेको थियो । होटल व्यवस्थापनका अनुसार चेकआउट गर्ने समयसम्म पनि कोठाबाट कुनै प्रतिक्रिया नआएपछि ढोका खोलेर हेर्दा शव फेला परेको थियो । घटनास्थलबाट तामाङको परिचय खुल्ने पासपोर्टको प्रतिलिपिसमेत बरामद भएको जनाइएको छ । घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष भनेको तामाङले प्रयोग गर्दै आएका फेसबुक, टिकटक र मेसेन्जर खाताबाट उनका साथीहरूलाई अझै पनि ‘पैसा मिलाइदिनुहोस्’ र ‘म अझै बन्धकमा छु’ भन्ने आशयका सन्देशहरू आइरहेको दाबी गरिएको छ ।

कम्पनीका प्रतिनिधि र प्रहरीको टोली शवको औपचारिक सनाखतका लागि अस्पताल जाने तयारीमा रहेका छन् । मलेसियाली प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारण र शवको पहिचान एकिन हुने जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण, सामाजिक सञ्जालमार्फत सन्देश कसले पठाइरहेको हो तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ ।