झापा । 

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूको इजाजतपत्र नवीकरणका लागि आवेदन लिइरहेको छ । वैदेशिक रोजगार ऐनअनुसार असार मसान्तसम्म एक आर्थिक वर्षका लागि इजाजतपत्र नवीकरण दस्तुर १० हजार रुपैयाँ लाग्ने व्यवस्था छ । 

त्यसपछि असोज मसान्तसम्म प्रत्येक महिनाका लागि थप १० हजार रुपैयाँ विलम्ब दस्तुर लाग्ने व्यवस्था छ । असोज मसान्तसम्म पनि नवीकरण नभए म्यानपावर कम्पनी खारेजीमा पर्ने व्यवस्था छ ।

विभागले इजाजतपत्र नवीकरण भने उजुरी फछ्र्योट भएपछि मात्रै गर्ने प्रचार भइरहेको छ । तर विभागले उजुरी फछ्र्योटलाई कडाइ गरे पनि प्रक्रिया पूरा गरी आवेदन दिने म्यानपावर कम्पनीहरूको नवीकरण गर्ने निर्देशक विन्दा आचार्यले जानकारी दिइन् ।

उनले उजुरी परेका, मुद्दा–मामिलामा रहेका, कारोबार वा एलटी रोकिएका सबै म्यानपावर कम्पनीले तोकिएको दस्तुर बुझाएर नवीकरण गर्नुपर्ने बताइन् ।केही म्यानपावर कम्पनीले एलटी रोकिएको, इनएक्टिभ भएको भन्दै समयमै नवीकरण दस्तुर नबुझाउँदा जरिवाना र खारेजीमा पर्ने गरेका छन् ।

यसअघि कम्पनी रजिस्ट्रारको कार्यालयले समयमै कम्पनी अध्यावधिक गरेको चिठी नदिँदा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिएका म्यानपावर कम्पनीहरू समयमै इजाजतपत्र नवीकरण गर्नबाट वञ्चित भई जरिवानामा परेका थिए ।