बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायमा प्रयोग हुँदै आएका नापतौलसम्बन्धी उपकरणको नियमित जाँच, नवीकरण र अनुमतिपत्र वितरणका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ। गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसँगको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत ढकतराजु, डिजिटल काँटा तथा कपडा नाप्ने मिटरको परीक्षण र नवीकरण गरिने भएको हो।
आज असार १८ गतेदेखि २१ गतेसम्म बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालय परिसरमा डोर टोलीमार्फत सेवा उपलब्ध गराइनेछ। प्रत्येक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म व्यवसायीले आफ्ना नापतौलका उपकरण लिएर उपस्थित हुन सक्ने व्यवस्था मिलाइएको छ।
संघका अनुसार व्यवसायिक कारोबारमा प्रयोग हुने नापतौलका साधनहरू नियमित रूपमा परीक्षण तथा नवीकरण नगर्दा उपभोक्ता र व्यवसायी दुवै पक्षमा विश्वासको संकट उत्पन्न हुन सक्ने भएकाले समयमै जाँच गराउनु आवश्यक छ। यसले व्यापारिक पारदर्शिता कायम गर्नुका साथै उपभोक्ताको अधिकार संरक्षणमा समेत टेवा पुग्ने संघका अध्यक्ष राजु न्यौपानेले बताएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले यसअघि पनि यस्ता नापतौल जाँच, नवीकरण तथा अनुमतिपत्र वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। गुणस्तर तथा नापतौल कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटाएर स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।
बिर्तामोड पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ। यहाँ साना, मझौला र ठूला गरी करिब ६ हजार व्यवसायी सक्रिय रहेको अनुमान छ। दैनिक उपभोग्य वस्तुदेखि कृषि, हार्डवेयर, कपडा, सुनचाँदी, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, औद्योगिक उत्पादन तथा सेवा क्षेत्रसम्मका हजारौँ कारोबार नापतौल प्रणालीसँग प्रत्यक्ष जोडिएका छन्। त्यसैले यस्ता उपकरणको शुद्धता र वैधानिकता कायम गर्नु समग्र बजार व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिन्छ।
व्यापारिक अनुशासन र उपभोक्ता हित संरक्षणमा नापतौलको शुद्धता आधारभूत विषय भएकाले व्यवसायीले समयमै आफ्ना उपकरण परीक्षण तथा नवीकरण गराउनुपर्नेमा संघले जोड दिएको छ। नियमित अनुगमन र प्रविधिमैत्री सेवामार्फत व्यवस्थित, विश्वसनीय र पारदर्शी बजार निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। संघले सबै व्यवसायीलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई ढकतराजु, डिजिटल काँटा तथा कपडा नाप्ने मिटरलगायतका उपकरणहरूको जाँच तथा नवीकरण गराउन अनुरोध गरेको छ।


















