बिर्तामोड ।
झापाको बिर्तामोडमा जारी ‘नेपाल मास्टर– २०८३’ स्नुकर प्रतियोगिताको उपाधि सोम लामा (हेटौडा) ले जितेका छन् । लामाले ‘नेपाल मास्टर– २०८३’ उपाधिसँगैे नगद दुई लाख रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको उपविजेता धनगढीका रोहित क्षेत्री भएका छन् । उनले नगद एक लाख रुपैेयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आज (शुक्रवार) बिर्तामोडमा भएको फाइनल खेलमा लामा र क्षेत्री बिच ८–५ को सेटको अन्तर रहेको थियो ।
क्षेत्रिले उपविजेताको उपाधिसँगै हाइएस्ट ब्रेकको उपाधि पनि प्राप्त गरेका छन् । उनले हाइएस्ट ब्रेकको नगद ३५ हजार रुपैयाँ पनि हात पारेका हुन् । बिजेता लामाले सेमिफाइनलमा विकास महर्जन र क्षेत्रिले वाङचु तामाङलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड नगर खेलकूद समितिका उपाध्यक्ष सन्तोष गुरुङ, सचिव विशन लिम्बु, आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकी, नवल अग्रवाल, युवा व्यवसायी बिपिन बजगाँईलगायतले बिजेता, उपबिजेता तथा हाइएस्ट ब्रेकरलाई नगदसहित ट्रफि र प्रमाणपत्रले सम्मान गरेका थिए ।
गत असार ४ गतेदेखि भएको प्रतियोगिताको फाइनल आज भएको हो । मोफसलकै ठुलो पुरस्कार राशीको स्नुकर प्रतियोगिताको भएको आयोजकले जनाएको छ । ‘बिर्तामोड मेयर कप नेपाल मास्टर– २०८३’ प्रतियोगिता बिर्तामोड स्नुकरको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सह–आयोजनामा सम्पन्न भएको हो ।
प्रतियोगितामा राष्ट्रिय स्तरका १६ जना, कोशी प्रदेशका १६ जना गरी जम्मा ३२ जना खेलाडीको सहभागीता रहेको पूर्व स्नुकर खेलाडी तथा झापा जिल्ला बास्केट बल प्रतियोगिताका अध्यक्ष प्रकाश लिङ्देनले जानकारी दिए । उनका अनुसार त्यस मध्ये ८ जना खेलाडीहरु बिर्तामोडकै रहेका थिए ।
स्थानीयस्तरमा ओझेलमा परेको स्नुकर खेललाई प्रतियोगिता मार्फत संरक्षण गर्दै खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले जानकारी दिए ।
बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत बिर्तामोड नगर खेलकुद विकास समितिका सदस्य विशाल अग्रवालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि संग्रौला, वडाध्यक्ष शर्मा, बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष गुरुङ, सचिव लिम्बुलगायतले शुभकामना राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तीलक योन्जनले गरेका थिए ।

















