शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल  ८९ करोड ८५ लाख २५ हजार बराबरको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औँ नगर सभाका अवसरमा आज (बुधवार)  उप–प्रमुख खड्गमाया पराजुलीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

उनले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेको जानकारी दिइन् । 

नगरपालिकाले आगामी वर्ष कृषि तथा पशुपन्छी विकासका लागि एक करोड ११ लाख, सामाजिक विकासतर्फ ५ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड ४४ लाख, संस्थागत विकास तथा सुशासनका लागि  १ करोड २९ लाख तथा पूर्वाधार विकासका लागि १० करोड ६८ लाख बजेट विनियोजन गरेको छ । 

नगरले नीति तथा कार्यक्रममा स्थानीय कृषि उत्पादन प्रवद्र्धन, रैथाने बाली संरक्षण, भूमिहीन तथा सुकुम्बासी व्यवस्थापन, डिजिटल सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको विस्तार, ज्येष्ठ नागरिकमैत्री कार्यक्रम तथा महिला, बालबालिका र विपन्न समुदायको सशक्तीकरणलाई विशेष प्राथमिकता दिएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्रे, पशु अस्पताल निर्माण, डिजिटल नगर प्रोफाइल निर्माण, खेलकुद पूर्वाधार विकास तथा कृषि र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । साथै सीमित स्रोत–साधन, राजस्व संकलन, अव्यवस्थित बसोबास, वातावरणीय चुनौती तथा पूर्वाधार निर्माणमा देखिएका समस्यालगायतलार्ई आगामी वर्षका प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । 

उपप्रमुख पराजुलीले नगरको समृद्धि, सुशासन र नागरिकमैत्री सेवा प्रवाहका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रम सफल कार्यान्वयनमा नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गरेकी छिन् । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको सभामा नगरका प्रमुख प्रशाशकीय अधिकृत अनोजकुमार घिमिरे, वडाध्यक्षहरुसहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।