झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीविरुद्ध वैदेशिक रोजगार ऐन तथा पेसा–व्यवसायको संवैधानिक प्रत्याभूति विपरीत संस्था र सञ्चालकमाथि मानमर्दन र अत्यधिक बल प्रयोग भइरहेको भन्दै वैदेशिक रोजगार विभागको असाधारण उपस्थितिका कारण पेसा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

शुक्रबार राजधानीको बत्तीसपुतलीमा रहेको वैदेशिक रोजगार क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको दि रिभर ओभरसिजमा अनुगमनका नाममा विभागबाट राज्यशक्तिले आफ्नो संवैधानिक अधिकारको व्यापक रूपमा दुरुपयोग गरेको अनुभूति भएको संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले बताए ।

उक्त कम्पनीविरुद्ध मलेसिया जाने एक जना कामदारको उजुरी परेको थियो । विभागले विगतमा त्यस्ता उजुरी तथा उजुरीकर्तालाई विभागको मेलमिलाप कक्षमा बोलाएर समस्या समाधान गर्ने गरेको थियो । तर शुक्रबार विभागले प्रचलित मान्यता र अभ्यास विपरीत सादा पोशाकका कर्मचारी खटाएर कम्पनीको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउने गरी कतिपय उपकरण जफत गरेको र कतिपय काम नलाग्ने गरी क्षति पुर्‍याइएको देखिएको छ ।

संघका अध्यक्ष खत्रीले शुक्रबार दि रिभर ओभरसिजमाथि भएको अत्यधिक र अनुचित बल प्रयोग तथा उक्त संस्थामा काम गर्ने कर्मचारीलाई अनुगमनका नाममा आएका गैर–निकायका कर्मचारीले गरेको दुव्र्यवहार सामाजिक सञ्जालमा छरपस्ट पारिएपछि विभिन्न म्यानपावर कम्पनीमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीले असुरक्षाका कारण राजीनामा दिएको जानकारी प्राप्त भएको बताए ।

उनले भने, ‘युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले २०७२ सालदेखि लागू गरिएको फ्रि भिसा, फ्रि टिकट नीतिलाई पोलिसी ट्र्यापको संज्ञा दिँदै त्यसमा सुधारका लागि कार्यदल गठन गरेको जानकारी संसद्लाई दिनुभएको छ । संघले पनि २०७२ सालदेखि लागू गरिएको फ्रि भिसा, फ्रि टिकट नीतिलाई कार्यान्वयन गर्न नसकिने अव्यावहारिक नीति भन्दै त्यसको कार्यान्वयन हुन नसक्ने अडान राखिरहेको छ । यस्तो अवस्थामा अनुगमनको अख्तियारी पाएको विभागले व्यवसायी निचोर्ने नीति लिएमा हामी कसैले पनि कामदार पठाउँदैनौं ।’

चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स मुलुकले प्राप्त गरेको तथ्यांक उल्लेख गर्दै उनले वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको स्पष्ट भएको अवस्थामा विभागका कदमले मुलुकमा आइरहेको रेमिट्यान्सको प्रवाह रोक्ने नकारात्मक भूमिका खेलेको व्यवसायीले देखेको टिप्पणी गरे । उनले भने, ‘म्यानपावर व्यवसायी र कर्मचारी तर्साउने तथा कम्पनीका भौतिक सम्पत्तिमाथि अत्यधिक बल प्रयोग गरेर क्षति पुर्‍याउने र बदनाम गर्ने कामले वैदेशिक रोजगार व्यवसायी त्रसित देखिएका छन् । ऐन र नीति सुधार नगर्ने तर अनुशासनको नाममा बल प्रयोग भइरहे व्यवसाय बन्द गरेर लाइसेन्स फिर्ता लिनुको विकल्प छैन ।’