बिर्तामोड ।
झापा जिल्ला टेबलटेनिस संघको आयोजनामा प्रथम मेयर कप टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत विभिन्न विधामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। लोत्से स्कुल धुलाबारीकि चाहना नेम्वाङ महिला खुल्लातर्फ तथा इटहरीका सक्षम आचार्य पुरुष खुल्लातर्फ च्याम्पियन भएका छन् ।
महिला खुल्ला तर्फ चाहना नेम्वाङ प्रथम, दिव्या अधिकारी द्वितीय तथा निर्जला भट्टराई तृतीय भइन्। पुरुष खुल्ला तर्फ सक्षम आचार्य प्रथम, सौगात पोखरेल द्वितीय तथा गौरव इङ्नाम तृतीय भए।
अण्डर–१९ गल्स डबल्स मा अनन्या कार्की र जेनीसा तामाङको जोडी प्रथम, अनुष्का थापा र सुरेखा बिष्टको जोडी द्वितीय तथा चाहना नेम्वाङ र इशा लिम्बुको जोडी तृतीय भयो।
अण्डर–१९ ब्वाइज डबल्स मा अञ्जिल दुलाल र दिवस खड्का प्रथम, स्वयं प्रधान र ईशान शाह द्वितीय तथा सिमोन राई र जतन पनेरु तृतीय भए। अण्डर–१५ ब्वाइज तर्फ अञ्जिल दुलाल प्रथम, दर्शन लिम्बू द्वितीय तथा दिवस खड्का तृतीय भए।
अण्डर–१५ गल्स तर्फ डेनिसा तामाङ प्रथम, इशा लिम्बू द्वितीय तथा रिदुङ्मा राई तृतीय भइन्। अण्डर–१९ गल्स मा अनन्या कार्की प्रथम, अनुष्का थापा मगर द्वितीय तथा भूमि राई तृतीय भइन्।
त्यसैगरी अण्डर–१९ ब्वाइज तर्फ निश्चल घिमिरे प्रथम, अनमोल गिरी द्वितीय तथा सुसान्त बराल तृतीय भए। प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ उपाधि ल्होत्से स्कुल, मेचीनगरका सिमोन राई ले प्राप्त गरे। उनले पुरस्कारस्वरूप ११ हजार ५०० रुपैयाँ बराबरको डिजिटल घडी प्राप्त गरेका छन्।
संघका झापा अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले टेबलटेनिस खेलको व्यवसायिक विकासलाई नगरपालिकाले प्राथमिकतामा राख्ने बताउँदै खेलाडीहरूलाई अध्ययनसँगै खेलकुदलाई पनि अघि बढाउन सुझाव दिनुभयो।
कार्यक्रममा देवभूमि विद्यापीठका संस्थापक सुमन शर्मा जमरकटेल ले आगामी दिनमा पनि प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा टेबलटेनिस खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।


















