बिर्तामोड ।
झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय प्रथम बिर्तामोड मेयर कप टेवल टेनिस प्रतियोगिता शुरु भएको छ । झापा जिल्ला टेबल टेनिस संघको आयोजना, बिर्तामोड नगरपालिकाको प्रायोजन तथा मेयरमान स्मृति प्रतिष्ठान र बिर्तामोड नगर खेलकूद विकास समितिको सह–आयोजनामा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन आज (शनिवार) बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी छिन् । बिर्तामोड–३ स्थित मेहरमान बहुउद्देश्यीय कवर्ड हलमा आजबाट शुरु भएको प्रतियोगिताको फाइनल भोलि अर्थात असार ७ गते हुनेछ ।
झापा जिल्ला टेबल टेनिस संघका झापा अध्यक्ष सन्तोष अग्रवालका अनुसार जुनियरतर्फ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिनेछ । जसमा जुनियरमा पनि सिंगल, डबल र मिक्स समूहमा प्रतियोगिता आयोजना हुनेछन् ।
यसैगरी सिनियरमा भने झापा जिल्लास्तरीय खेलाडीको सहभागिता रहने छ । यसमा पनि सिंगल, डबल र मिक्स तथा भेट्रान्समा सिंगल र डबलको भिडन्त हुने उनले बताए ।
गतबर्ष आयोजना भएको जिल्ला स्तरीय प्रतियोगिताको सफलतापछि टेवल टेनिस खेलको विकाससँगै यो बर्ष पनि त्यो भन्दा बृहत प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ । बार्षिक क्यालेण्डर बनाएर टेवलटेनिसको व्यवासायिकरणमा सघ जुटेको बताइएको छ ।
प्रतियोगितामा अनुमानित १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जसका लागि बिर्तामोड नगरपालिकाले २ लाख रुपैंयाँ बिनियोजन गरेको छ । बाँकी खर्च सहयोगी तथा दाताबाट पूरा गरिने अध्यक्ष अग्रवालले बताए ।
प्रतियोगिताका बिभिन्न बिधामा बिजेता तथा उपविजेताहरुलाई नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । उद्घाटन कार्यक्रममा स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष अग्रवालले पारेको कार्यक्रमा बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेहरमान बहुउद्देश्यीय कवर्ड हलका अध्यक्ष दिलेन्द्र कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका पूर्व अध्यक्ष शेखर ढकालले गरेका थिए । कार्यक्रममा कवर्ड हलका सचिव मदन खड्का, कोषाध्यक्ष कृष्ण खड्कालगायतको आतिथ्य रहेको थियो ।


















