झापा ।
वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा जान आवेदन दिएका आवेदकले असार १४ गतेभित्र प्रहरी रिपोर्ट पेस गर्नुपर्ने जनाएको छ ।विभागले शुक्रबार सूचना जारी गर्दै असार ७ गतेसम्म आवेदन दिने योग्य उम्मेदवारमध्ये केहीले तोकिएको समयभित्र प्रहरी रिपोर्ट प्राप्त गर्न नसक्ने अवस्था देखिएकाले थप समय उपलब्ध गराइएको जनाएको हो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउनका लागि आह्वान गरिएको आवेदनको म्याद असार ७ गते राति १२ बजेसम्म कायम गरिएको विभागले जनाएको छ । तर, आवश्यक कागजात तयार गरी भाषा परीक्षाको मापदण्ड पूरा गरेका आवेदकहरूले समयमै प्रहरी रिपोर्ट प्राप्त गर्न नसक्ने सम्भावना रहेको भन्दै विभिन्न माध्यमबाट गुनासो प्राप्त भएको थियो ।
हेलो सरकारलगायतका माध्यमबाट प्राप्त गुनासोका आधारमा विभागले प्रहरी रिपोर्ट पेस गर्न थप समय दिने निर्णय गरेको जनाएको छ । विभागका अनुसार आवेदनको अन्तिम म्यादभित्र प्रहरी रिपोर्ट प्राप्त नभएका, तर आवेदनका लागि आवश्यक अन्य योग्यता पूरा गरेका उम्मेदवारले असार १४ गते राति १२ बजेसम्म प्रहरी प्रतिवेदन पेस गर्न सक्नेछन् । विभागले तोकिएको समयभित्र प्रहरी रिपोर्ट पेस नगरे आवेदन स्वतः अस्वीकृत हुने स्पष्ट पारेको छ ।


















