झापा । 

नेपालस्थित साउदी अरेबियाको दूतावासले वैदेशिक रोजगारीका लागि साउदी जाने नेपाली कामदारको सीप प्रमाणीकरण स्किल सर्टिफिकेसन साउदी सरकारको कार्यक्रम भएकाले स्थगित नहुने जनाएको छ । व्यवसायीहरूले साउदी जाने कामदारको स्किल सर्टिफिकेसनका लागि धापासीमा स्थापना गरिएको स्किल भेरिफिकेसन प्रोग्राम कार्यालय घेराउ गर्दै तोडफोड गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डल बिहीबार छलफलका लागि कुपोन्डोलस्थित साउदी दूतावास गएको थियो ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपालका लागि साउदी अरेबियाका राजदूत र उपप्रमुखसँग एक घण्टाभन्दा लामो समय छलफल गरेको संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

संघका तर्फबाट अध्यक्ष खत्रीले स्किल सर्टिफिकेसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार पर्ने र व्यवसायीमाथि अतिरिक्त रकम उठाएको लाञ्छना आउने भन्दै असहमति जनाएका थिए । जवाफमा राजदूतले सीप परीक्षण कार्यक्रम साउदी सरकारको भएको र शुल्क भने ५० अमेरिकी डलर मात्रै भएको बताएका छन् ।

दूतावासले काठमाडौंसहित लुम्बिनी, जनकपुर, नारायणगढ र महोत्तरीमा स्किल सर्टिफिकेसन कार्यक्रम सञ्चालन गर्ने र ६ महिनाभित्र कृषि र सेफर्ड बाहेकमा स्किल सर्टिफिकेसन लागू हुने समेत जानकारी दिएको छ ।

पौडेलले आफूले दूतावासले ५० अमेरिकी डलर भनेपनि भारतमा १५ हजार भारतीय रुपैयाँ लिएको प्रमाण आफूसँग रहेकोे बताएर नेपाली कामदारलाई भार पार्न नहुने आग्रह गरेको बताए । जवाफमा राजदूतले मेसन भनेर नेपालबाट पठाउने, तर कामदारले साउदीमा कुनै काम नजान्ने अवस्था रहेको भन्दै स्किल सर्टिफिकेसनलाई अनिवार्य गरिने दोहोर्‍याएको उनले जानकारी दिए ।