झापा । 

वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्राउ गर्नुका साथै दर्जनौं उजुरीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

विभागका अनुसार असार ३ गते मात्रै मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्। सोही अवधिमा २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने ९ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ।

यस्तै, ९ वटा मुद्दा आपसी मिलापत्रमार्फत टुंग्याइएको छ। अनुसन्धानका क्रममा बैंक, अभियोगपत्र र रायपत्र सम्बन्धी ६८ वटा पत्राचारसमेत गरिएको विभागले जनाएको छ।

संस्था अनुगमन शाखाले म्यानपावर कम्पनीहरूलाई ५ वटा पत्र पठाएको छ भने १६ वटा राहदानी वितरण गरेको छ। राहत, उद्धार तथा समन्वय शाखाले ६ जनाको उद्धार गर्नुका साथै २ जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ। सो शाखामा १० वटा नयाँ उजुरी दर्ता भएका छन् भने १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा प्रदान गरिएको छ।

गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’मार्फत प्राप्त ११ मध्ये ९ वटा गुनासो समाधान गरिएको छ। विभागको कल सेन्टरमा प्राप्त ४७ गुनासोमध्ये २९ वटाको समाधान भइसकेको छ भने बाँकी प्रक्रियामा रहेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव को सचिवालय तथा ह्वाट्सएपमार्फत आउने उद्धार र राहतसम्बन्धी गुनासोलाई थप प्रभावकारी बनाउन आवश्यक कागजातसहित आधिकारिक रूपमा पठाउन विभागले आग्रह गरेको छ।