झापा ।
वैदेशिक रोजगार व्यवसायीहरूले साउदी अरेबिया जाने कामदारको सीप प्रमाणीकरण स्किल सर्टिफिकेसनमा सिन्डिकेट गरेको भन्दै धापासीस्थित मदरल्यान्ड स्किल एकेडेमी घेराउ गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा भएको एकेडेमी घेराउमा व्यवसायीले विपन्न अवस्थामा रहेका कामदारको आर्थिक शोषण गर्न नपाइने भन्दै नारावाजी गरेका थिए । केही व्यवसायीले एकेडेमी गेटमा रहेका प्रचार सामग्री तोडफोड गरिदिएका थिए ।
आक्रोसित व्यवसायी एकेडेमी पुग्दा सञ्चालक कार्यालयमा नभेटिएपछि संघका प्रतिनिधिले दबाव दिएर बुधबारका सीप परिक्षण कार्यक्रम स्थगित गराई थप रणनीतिको तयारीका लागि सिफलस्थित कार्यालय पुगेका छन् ।
यता मदरल्याण्ड ओभरसिज प्रालिले आफ्नो संस्थाको नाम जोडेर आएका विभिन्न भ्रम र चर्चाका सम्बन्धमा आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छ ।
ओभरसिजका अध्यक्ष टेकबहादुर पौडेलले एक विज्ञप्ति जारी गर्दै कार्यालय स्थानान्तरण गरिएका कारण इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिमा आफू र आफ्नो परिवारका सदस्यको कुनै सेयर स्वामित्व नरहेको उल्लेख गरेका छन् । पौडेलले उक्त ट्रेनिङ सञ्चालन कार्यमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता नरहेको पनि दाबी गरेका छन् ।
ओभरसिजले आफू सधैं स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने बताउँदै जुनसुकै नाम वा आवरणमा हुने सिन्डिकेट र एकाधिकारको विरुद्धमा रहेको दृढता व्यक्त गरेको छ । हाल साउदी अरब जाने कामदारका लागि लागू गरिएको स्किल भेरिफिकेसन प्रोग्राम’को विषयमा पनि आफ्नो धारणा स्पष्ट पार्दै ओभरसिजले कुनै पनि प्रकारको एकाधिकारको विपक्षमा उभिने संकेत गरेको छ ।

















