बिर्तामोड । 

सामाजिक उत्तरदायित्व, समावेशी शिक्षा तथा सामुदायिक बिकासलाई प्रवर्धन गर्ने उद्देश्यले तक्षशिला प्रोग्रेसिभ इङ्गिलस स्कुलले झापा गाउँपालिका–झापा स्थित मदरसा इस्लामिया रोहिमारी तथा मुस्लिमगल्र्स मदरसामा विद्यालयका लागि आवश्यक शैक्षिक सामाग्री तथा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम तक्षशिला प्रोग्रेसिभ इङ्गिलस स्कुलका संरक्षक श्री दुर्गा प्रसाद प्रसाईको विशेष उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरूको अध्ययन–अध्यापनलाई थप सहज, व्यवस्थित तथा गुणस्तरीय बनाउन ६० सेट डेस्क–बेञ्च हस्तान्तरण गर्नुका साथै विद्यार्थीहरूको सुविधाजनक अध्ययनका लागि १० वटा कक्षाकोठा पूर्ण रूपमा व्यवस्थापन (Furnishing) गरी सम्बन्धित मदरसाहरूलाई हस्तान्तरण गरिएको थियो ।

 यस सहयोगले विद्यार्थीहरूलाई थप सुरक्षित,सहज तथा अनुकूल शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ । यस अवसरमा बोल्दै दुर्गाप्रसाद प्रसाईले शिक्षा समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै देशका हरेक बालबालिकाले गुणस्तरीय शिक्षामा समान पहुँच प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे । उनले शैक्षिक संस्थाहरूको सुदृढीकरण तथा आवश्यक पूर्वाधार बिकासमार्फत सक्षम र शिक्षित समाज निर्माण गर्न सकिने बताए । 

त्यसैगरी, डा. अञ्जली कार्की प्रसाई तक्षशिला प्रोग्रेसिभ इङ्गिलस स्कुलका कार्यकारी निर्देशकले शिक्षा केवल आफ्ना विद्यार्थीहरूमा मात्र सिमित नराखी समाजका हरेक वर्ग र समुदायसम्म पु¥याउने उद्देश्यका साथ विभिन्न सामाजिक तथा शैक्षिक अभियानहरू सञ्चालन गर्दै आएको बताइन् । उनले यस्ता सहयोगात्मक कार्यक्रमहरूले सामाजिक सद्भाव, समावेशिता तथा शैक्षिक अवसरहरूको विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।

शैक्षिक सामाग्री तथा फर्निचर हस्तान्तरण कार्यक्रम पश्चात् सोही स्थलमा बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा समुदायका अन्य सदस्यहरूले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, मदरसा व्यवस्थापन समिति, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शैक्षिक सहयोग र स्वास्थ्य सेवामार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरूको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा व्यक्त गरेका थिए । 

तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलद्वारा सम्पन्न यो पहल शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामार्फत समुदायको समग्र विकासमा योगदान पु¥याउने प्रतिबद्धताको अर्को महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको छ । यस कार्यक्रमले शैक्षिक अवसरहरूको विस्तार, सामुदायिक सशक्तीकरण तथा सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने विद्यालयको दीर्घकालीन दृष्टिकोणलाई थप मजबुत बनाएको छ ।