झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षका उम्मेदवार डिक बहादुर खत्री कुमार प्यानलसहित निर्वाचित भएका छन्  । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाली कांग्रेस निकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहले निर्वाचनमा प्यानल खडा गरेका थिए ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई हराउँदै खत्री अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्ष पदमा विजयी खत्रीले ३४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वंद्वी भुर्तेलले १९२ र पाण्डे क्षेत्रीले १७० मत पाएका छन् ।  प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१, द्वितीय उपाध्यक्षमा अनिल बोगटी  ३१५, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९, महासचिवमा हरि डाँगी २७३, सचिवमा केदार नाथ अधिकारी २९४ र कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मतसहित बिजयी भएका छन् ।

प्रगतिशील प्यानलले १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ जना र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ । एशोसिएशन प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल र दुई सदस्य गीता राउत र दीक्षा दाहालले जित हासिल गरेका छन् । वैदेशिक रोजगारका जल्दाबल्दा समस्या समाधानका लागि पुरानो कार्यसमिति फेर्ने उद्देश्यसहित करिब डेढ महिनाको उतारचढावपूर्ण अवस्थापछि विशेष साधारण सभाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन भएको हो ।