बिर्तामोड। 

वीरता जेसीजको आयोजनामा सन् २०२६ का लागि जेसीआई भाइस प्रेसिडेन्ट एशिया प्यासिफिक (नेपाल) निरुपित सिनेटर केङ्गो सुजुकीको सम्मानमा आयोजित विशेष ‘मीट एण्ड ग्रीट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सुजुकीले वीरता जेसीजले समाज रूपान्तरण, नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुजुकीले जेसीआई विश्वव्यापी रूपमा युवाहरूलाई सकारात्मक परिवर्तनका लागि नेतृत्व प्रदान गर्ने संस्था भएको उल्लेख गर्दै नेपालका स्थानीय शाखाहरूले समुदायस्तरमा गरिरहेका गतिविधिहरू प्रेरणादायी रहेको बताए। उनले विशेष रूपमा वीरता जेसीजले शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्व तथा युवाहरूको नेतृत्व विकासका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमहरू उल्लेखनीय रहेको बताए।

उनले जेसीआईका सदस्यहरूलाई विश्वव्यापी सञ्जाल, नेतृत्व विकास र समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानमा अझ सक्रिय हुन आग्रह गर्दै जेसीआई र विभिन्न राष्ट्रिय संगठनहरूले सामना गरिरहेका चुनौतीहरू साझा प्रकृतिका भएकाले ती समस्याको समाधानका लागि एकता, सहकार्य र नविन सोच आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीले वीरता जेसीज नेपाल जेसीजकै एक सक्रिय, गतिशील र उत्कृष्ट शाखाका रूपमा स्थापित भएको बताए। उनले शाखाले सञ्चालन गरेका विभिन्न सामाजिक, शैक्षिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरे।

वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी प्रज्ज्वल विमलीले जापानबाट नेपाल भ्रमणमा आएका सिनेटर केङ्गो सुजुकीलाई वीरता जेसीज परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै अन्तर्राष्ट्रिय जेसीज नेतृत्वसँगको प्रत्यक्ष अन्तरक्रियाले स्थानीय सदस्यहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको प्रारम्भमा वीरता जेसीजका ट्रेनिङ कोअर्डिनेटर जेसी विज्ञानराज पौड्यालले आस्था वाचन गरेका थिए भने कानूनी सल्लाहकार जेसी प्रभात मास्केले जेसीआई मिसन, भिजन तथा क्रिड वाचन गरेका थिए। कार्यक्रममार्फत जेसीआईको उद्देश्य, मूल्य र नेतृत्व विकासको अवधारणाबारे समेत चर्चा गरिएको थियो।

शुभकामना मन्तव्यका क्रममा वीरता जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी योगेश राजवंशी, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, चारआली जेसीजका अध्यक्ष जेसी सञ्जय निरौला लगायतले अन्तर्राष्ट्रिय नेतृत्वको उपस्थितिले झापाका जेसीज सदस्यहरूलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको बताएका थिए। उनीहरूले जेसीआईको विश्वव्यापी सञ्जालमार्फत स्थानीय स्तरका गतिविधिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने अवसरका विषयमा समेत प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू, विभिन्न स्थानीय शाखाका अध्यक्षहरू, पूर्व अध्यक्षहरू, सिनेटरहरू, कार्यकारिणी पदाधिकारीहरू तथा झापा जिल्लाभित्रका विभिन्न जेसीज शाखाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सिनेटर केङ्गो सुजुकीसँग प्रत्यक्ष संवाद गर्दै जेसीआईका अन्तर्राष्ट्रिय गतिविधि, नेतृत्व विकासका अवसर तथा संगठन विस्तारका सम्भावनाबारे जिज्ञासा राखेका थिए।

कार्यक्रमले नेपाल र अन्तर्राष्ट्रिय जेसीआई नेतृत्वबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै स्थानीय सदस्यहरूमा विश्वस्तरीय नेतृत्व, सहकार्य र सेवा भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जेसी सुवास तिखत्रीले गरेका थिए। 

अन्त्यमा अध्यक्ष लोकचन्द्र श्रेष्ठले सम्पूर्ण अतिथि, सहभागी तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गर्दै वीरता जेसीजले आगामी दिनमा पनि युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदाय रूपान्तरणका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। "Together We Can" भन्ने भावनालाई आत्मसात गर्दै सम्पन्न उक्त कार्यक्रमले वीरता जेसीजको संगठनात्मक सक्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा नेतृत्व विकासप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।