झापा ।
वैदेशिक रोजगार सञ्चार पुरस्कार स्थापना गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति काठमाडौंले गत साता पत्रकार सम्मेलन गरी सो पुरस्कार स्थापनाको घोषणा गरेको हो । एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले पुरस्कार स्थापनाको घोषणा गर्दै हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी ५० हजार नगद र सम्मान पत्र हुने जानकारी दिए ।
एकता समितिले ‘वैदेशिक रोजगार सञ्चार पुरस्कार’को छनोट समिति समेत गठन गरेको छ । समितिको शुक्रबार सम्पन्न कार्यसमिति बैठकले समितिका कार्यकारी उपाध्यक्ष हरिशचन्द्र कुंवरको संयोजकत्वमा एक समिति गठन गरेको हो । उक्त समितिले पुरस्कार प्रदानका लागि योग्य पत्रकारको मूल्यंकन, छनोट तथा निर्णय गर्नेछ । समितिमा कार्यकारी उपाध्यक्ष तारानाथ अर्याल सदस्य सचिव र सुरेश शर्मा ढकाल सदस्य रहेका छन् ।
समितिले वैदेशिक रोजगारको क्षेत्रमा निष्पक्ष रूपमा कलम चलाई सत्य तथ्य समचार सम्प्रेषण गर्ने पत्रकारको उच्च मूल्यांकन गरी यो पुरस्कार प्रदान गरिने बताएको छ । समितिले पुरस्कार मूल्यांकन कार्यविधि बनाएर तुरुन्त छनोट प्रक्रिया अघि बढाउन लागेको कार्यकारी उपाध्यक्ष अर्यालले जानकारी दिए ।

















