बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले यस आर्थिक बर्ष २०८२–०८३ मा १८ वटा भवन निर्माण तथा मर्मत गरेको छ । यसैगरी प्लम २ किलोमिटर ४१०.२ मिटर, कल्भर्ट ९ वटा, कम्पाउण्ड वाल १० वटा, पेवर्स २ किलोमिटर ०९९.९० मिटर, नाला १ किलोमिटर ५५१.१० मिटर निर्माण गरेको नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिएका छन् । 

नगरले गत आर्थिक बर्ष २०८१–०८२ मा सामुदायिक भवन ३२ वटा, पेवर्स तथा ब्लक ८.२९ किलोमिटर, नाला, ड्रेन ४.६२ किलोमिटर, प्लम १२.७४ किलोमिटर, कल्भर्ट ४ वटा, फलामे पुल एउटा, ह्युमपाइप कल्भर्ट ७९ वटा निर्माण गरेको थियो । 

आर्थिक बर्ष २०७४ देखि हालसम्म नगरले बिपन्न आवास भवन ५९२ वटा, भवन निर्माण तथा मर्मत १०८ वटा, अस्पताल १० वटा, प्रशासनिक सेवा प्रवाह भवन ६ वटा, सामुदायिक भवन १८२ वटा, पेवर्स तथा ब्लक ३७.७३ किलोमिटर र ९० मिटर, नाला ड्रेन ३३.३५१ किलोमिटर र १० मिटर, झोलुङ्गे पुल ३ वटा निर्माण गरेको नगरपालिकाको तथ्याङ्कमा छ । 

यस आर्थिक बर्षमा बिर्तामोड–९ को दुर्गा मावि भवन, बिर्तामोड–१० कौ सैनिक सेवा भवन, बिर्तामोड–१० कै त्रिपुरेश्वर शिवालय मन्दिर, बिर्तामोड–१, २, ४, ६, ८ र १० को स्वास्थ्य चौकी, महेन्द्ररत्न मावि, बिर्तामोड–६, ७ र ८ को कार्यालय, पशु विकास शाखाको भवनमा कम्पाउण्ड वाल निर्माण गरिएको बताइएको छ । 

संघीय र प्रदेश सरकारबाट आउने नीति समानिकरणको बजेट नगरले प्राप्त गरिनै रहेको नगर उप–प्रमुख संग्रौलाले बताए । उनले टेन्डर प्रक्रियाबाट हुने निर्माण कार्य तथा विकास योजनाहरु पेट्रोलिय पदार्थको मूल्यबृद्धिसँगै एकदमै ढिलाई भएकोबताएका छन् । 

‘ठेक्का लागेको भएपनि पेट्रोलिय पदार्थको मूल्यबृद्धिले गर्दा निर्माण व्यवसायीहरुले काम ठप्प पार्ने कुरा आइरहेको छ’उनले भने । त्यसले पनि निर्माण कार्यमा असर परेको बताउँदै नगर उप–प्रमुख संग्रौलाले  संघ र प्रदेशको केही बजेट निरन्तर रुपमा काममा अघि बढेको बताए  । 

उनका अनुसार त्यो सँगसँगै नगरपालिकाले पनि करिव ३५ दिन अगाडी एउटा ग्राभेलको टेन्डर लगाएको थियो । ‘३५ दिनसम्म पनि त्यो टेन्डर लागेन’ नगर उप–प्रमुख संगौलाले  भने ‘त्यसपछि ७ दिनको सूचना जारी गर्दा पनि ठेक्का लागेन ।’ जिल्ला दररेटका कारण त्यो लाग्न नसकेको उनको भनाई छ । त्यसले गर्दा पनि ग्राभेल बाटोहरुमा खाल्डाखुल्डी धेरै रहेको र त्यसले समस्या हुने देखिएको उनले बताए ।  तरपनि सकेसम्म त्यसलाई नगरले समाधान गर्ने उहाँले विश्वास दिलाएका छन् ।