बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकामा सडक निर्माणमा उल्लेखीय प्रगति भएको छ । हाल नगरका प्रत्येक वडा र टोल–टोलमा कालोपत्रे सडक निर्माण भइसकेका छन् भने केही निर्माण भइरहेका छन् । जसका कारण एक वडाबाट अर्को वडा र एक टोलबाट अर्को टोलसम्म पुग्न सहज भएको छ । 

यस चालु आर्थिक बर्षमा मात्र बिर्तामोड नगरमा ५ किलोमिटर ७५१.२ मिटर सडक कालोपत्रे भएको नगरपालिकाले जनाएको छ । नगरले बिर्तामोड–६ देवनिया खोला र मियाबारी–बिर्ताबजार सडक, बिर्तामोड–२ स्थित रामचोक कुमलवाडी सडक, बिर्तामोड–१० द«ोण मार्गसहित अन्य सडक कालोपत्रे गरेको नगरपालिकाले दिएको तथ्याङ्कमा उल्लेख छ । 

गत बर्षको तुलनामा यस बर्ष नगरले सडक कलोपत्रेमा उल्लेखीय प्रगति गरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक बर्ष २०८१/०८२ मा ४.४१ किलोमिटर मात्र सडक कालोपत्रे भएको थियो । आर्थिक बर्ष २०७४÷०७५ देखि हालसम्म बिर्तामोड नगरमा १०१ किलोमिटर ६३१.२ मिटर सडक कालोपत्रे भएको नगरले उपलब्ध गराएको तथ्याङ्कमा छ । 

यस्तै कालोपत्रे सडक मर्मत यस आर्थिक बर्ष २०८२/०८३ मा ७४५ मिटर गरेको नगरको तथ्याङ्कमा छ । नगरले एक किलोमिटर ३३६ मिटर सडक ग्राभेल गरेको छ भने गत बर्ष ८.२९ किलोमिटर बाटो ग्राभेल भएको थियो । गत बर्ष ८१.५२ किलोमिटर सडक ग्राभेल गरेको नगरले २०७४ देखि हालसम्म ३०७ किलोमिटर ८५६ मिटर सडक ग्राभेल गरेको छ । 

सडक कलोपत्रेका लागि नगरले यस आर्थिक बर्षमा आठ करोड ८० लाख रुपैयाँ बजेट छुट्याएको बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए  । १० वटा वडा कार्यालय रहेको बिर्तामोड नगरले प्रत्येक वडामा सडक बिस्तारसँगै सडक कालोपत्रेलाई निरन्तरता दिदै आएको नगर उप–प्रमुख संग्रौलाले बताए । उनका अनुसार केही सडक सम्पन्न भइसकेका छन् भने केहीको काम भइरहेको छ । 

आर्थिक बर्ष सुरुसँगै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पनि नगरको बिकास योजनामा असर गरेको भएपनि नगरको स्रोतले भ्याएसम्म विकास निर्माण कार्यलार्ई निरन्तरता दिदै उनको भनाई छ । 

आर्थिक बर्ष २०८२/०८३ बजेट कार्यन्वयनमा केही ढिलाई भएपनि कार्यलाई अगाडि बढाइएको उनले बताए । त्यस्तै बिर्तामोड–भद्रपुर र बिर्तामोड–शनिश्चरे सडक क्षेत्रलाई बढदो शहरीकरणसँगै अझ व्यवस्थित र फराकिलो बनाउने उदेश्यले सडकको आसपास मिचेर बनाइएका जग्गामा निर्माण भएका संरचनाहरु हटाएर सडकलाई फराकिलो बनाउने अभियानलाई पनि अगाडि बढाइएको छ । 

१ अर्व ३१ करोड बजेट पारित गरेको नगरले जेनजी आन्दोलनपछि पुसदेखि पछि मात्र बिभिन्न ठेक्का प्रक्रिया, योजना सम्झौताका कामहरु अघि बढेको उनले बताएका छन् ।