झापा ।
साउदी अरेबियाले आफ्नो महत्त्वाकाङ्क्षी ‘नियोम’ मेगा–सिटी परियोजनाका ठुला निर्माण सम्झौता कटौती र रद्द गर्न थालेपछि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ रहेका हजारौँ नेपाली श्रमिकको भविष्य अन्योलमा परेको छ ।
श्रमिक समुदायबाट प्राप्त प्रारम्भिक अनुमानअनुसार विभिन्न निर्माणस्थलमा कार्यरत करिब ८० हजार नेपाली कामदार यो आकस्मिक रोजगारी सङ्कटमा परेका छन् ।
साउदी सरकारले परियोजना पूर्ण रूपमा बन्द नभई केवल ‘पुनः प्राथमिकतामा राखिएको’ दाबी गरिरहे पनि निर्माणस्थलको अवस्था भने निकै फरक देखिएको छ ।
एक समय हजारौँ श्रमिकले भरिएका विशाल श्रमिक शिविरहरू अहिले तीव्र रूपमा खाली हुँदै गएका छन् । ठुला अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूले औपचारिक रूपमा सम्झौता अन्त्य गरेपछि तत्काल रोजगारी कटौती सुरु भएको छ ।
मलेसियाली कम्पनी एभर्सेन्डाइले ‘ट्रोजेना स्की भिलेज’ परियोजनाको सम्झौता अन्त्य गरेको छ । कामदारहरूका अनुसार उक्त परियोजनामा मात्र कार्यरत ३ हजार नेपालीमध्ये अधिकांशलाई स्वदेश फर्काइसकिएको छ ।
यस्तै इटालीको कम्पनी वेबिल्ड र दक्षिण कोरियाली कम्पनी हुन्डाई इन्जिनियरिङसँग भएका अर्बौं डलर बराबरका सम्झौता पनि रद्द गरिएका छन् । यससँगै सुरुङ यातायात सञ्जाल र कृत्रिम ताल निर्माणका काम पनि रोकिएका छन् ।

















