बिर्तामोड । 

व्यवसायीलाई समस्या पर्दा सहकार्य, सहअस्तित्व र आपसी सहयोगको भावना बलियो बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको “व्यवसायी सदस्य राहत कोष” मा विशिष्ट सदस्य निर्मल भट्टराईले २१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर भट्टराईले उक्त रकम संघका अध्यक्ष राजु न्यौपाने लाई हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै व्यवसायीहरूको हितका लागि स्थापना गरिएको कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको भट्टराईले बताए ।

नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका सदस्य समेत रहेका युवा व्यवसायी भट्टराईले यसअघि पनि आफ्नो जन्मदिनकै अवसरमा राहत कोषका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका थिए । निरन्तर सहयोगमार्फत उनले अन्य उद्योगी व्यवसायीलाई समेत सामाजिक कार्यमा प्रेरित गरिरहेको संघका पदाधिकारीहरूले बताएका छन् ।

संघका अध्यक्ष न्यौपाने नेतृत्वको कार्यसमितिले व्यवसायीहरूलाई आपत–विपत्का समयमा राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यसहित एक करोड रुपैयाँको लक्ष्य राखेर “व्यवसायी सदस्य राहत कोष” स्थापना गरेको हो । कोषमार्फत व्यवसायी सदस्यहरूलाई आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या, प्राकृतिक विपत्ति तथा अन्य कठिन परिस्थितिमा राहत उपलब्ध गराउने योजना रहेको जनाइएको छ ।

संघका अनुसार कोष स्थापनापछि विभिन्न उद्योगी, व्यवसायी, सामाजिक अगुवा तथा शुभेच्छुकहरूले जन्मदिन, विवाह उत्सव, पितृ स्मृति लगायतका अवसर पारेर आर्थिक सहयोग गर्दै आएका छन् । सामूहिक सहयोगको भावनाले कोषलाई थप मजबुत बनाउँदै लगेको संघको भनाइ छ ।

हालसम्म राहत कोषमा करिब ३० लाख रुपैयाँ संकलन भइसकेको संघले जनाएको छ । कोषका संयोजक राजकुमार घिमिरेले व्यवसायी समुदायमा मानवीय सहयोगको संस्कार विकास गर्न कोषले सकारात्मक भूमिका खेलेको बताए ।

कोषमा योगदान गर्ने दाताहरूलाई संघले कदरपत्र प्रदान गरी सम्मान गर्दै आएको छ । संघले आगामी दिनमा पनि राहत कोषलाई थप विस्तार गर्दै व्यवसायीहरूको साझा सुरक्षा अभियानका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ । भट्टराईको जन्म दिन संघको कार्यलयमा मनाइएको थियो । जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा बिर्तामोडका उद्योगी व्यवसायीको सहभागीता रहेको थियो ।