झापा । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपछि पर्याप्त तयारीबिना कठोर नियन्त्रणका कदम चालिँदा निजी क्षेत्र त्रसित बनेको छ भने त्यसअन्तर्गतको वैदेशिक रोजगार क्षेत्र आतंकित बनेको छ । म्यानपावर तथा कन्सल्टेन्सी व्यवसायी सूर्यबहादुर डाँगी व्यवसाय सञ्चालनका क्रममा आएका कठिनाइ व्यवस्थापन गर्न नसकेर देहत्याग गरेर शनिबार बिदा भएका छन् भने अर्का व्यवसायी प्रदीप भट्टराई माइतीघरमा अनशनमा उत्रिएका छन् ।

भट्टराई चाबहिल सरस्वतीनगरस्थित प्रयास रि–इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट प्रालिका सञ्चालक हुन् । सरकारले २०७२ जेठ २६ गते एकपक्षीय रूपमा लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’को निर्णय कार्यान्वयन गराउने भन्दै म्यानपावर कम्पनीहरूमा छापा मार्ने, वैदेशिक रोजगारबाट आफ्नै कमजोरीका कारण फर्किएका व्यक्तिहरूलाई भड्काएर उजुरी दिन लगाउने तथा अनुचित ताकेता गर्ने काम भइरहेको भन्दै अहिले राजधानीका आधाभन्दा बढी म्यानपावर कम्पनीले अस्थायी रूपमा कर्मचारी बिदा गरेर कार्यालय बन्द गरेका छन् । अन्य कतिपय व्यवसायी सरकारलाई लाइसेन्स बुझाएर धरौटी फिर्ता लिने मनस्थितिमा पुगेको बताएका छन् ।

मूलतः राजनीतिक तथा सामाजिक माग पूरा गराउन पीडितहरू माइतीघर मण्डलामा आमरण अनशनमा बस्नु नौलो होइन । तर निजी पुँजी परिचालन गरेर स्वदेश तथा विदेशमा रोजगारी सिर्जना गर्ने व्यवसायी व्यवसाय गर्नु पाप होइन भन्दै आमरण अनशनमा उत्रिने घटना बढ्दै जानु चिन्ताजनक अवस्था भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेल बताउँछन् ।

अनशनमा उत्रिएका व्यवसायी भट्टराईले संक्षिप्त कुरा गर्दै सरकार व्यवसाय सञ्चालनका लागि सहजकर्ता बन्नुपर्ने माग राखे । व्यवसायी भट्टराई सरकार वैदेशिक रोजगार व्यवसाय सञ्चालनका जटिलता, लगानी र व्यवसायीले व्यहोर्नुपरेको मानसिक तनावको समाधान खोज्न नचाहेर पेलेरै जाने तथा नियन्त्रणमुखी दमनको शैलीमा उत्रिएपछि सडकमा आउनुको विकल्प नरहेको बताउँछन् । यस्तै स्व. डाँगीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अधिकांश व्यवसायीले आत्महत्या समस्याको समाधान नभई कायरता भएको धारणा राखेका छन् ।

व्यवसायी डाँगी विगत पाँच वर्षदेखि व्यवहार बिग्रिएपछि मुद्दा–मामिला र जेल बसाइका कारण शिथिल बनेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । पछिल्लो पटक जन्मेको २१ दिन मै छोरीको वियोग, कर्जा सूचना केन्द्रको कालोसूची र अन्तिम पक्राउ पुर्जी उनका लागि असह्य पीडा बनेको तथा त्यही बज्रपातकै कारण उनले गलत बाटो रोजेको व्यवसायीहरू बताउँछन् ।

डाँगी लाजिम्पाटस्थित युरो–एसिया एजुकेसन कन्सल्टेन्सी प्रालि तथा सिनामंगल ठेगाना रहेको इजाजत पत्र नं। १४८२/०७४/७५ रहेको हव रिक्रुटमेन्ट प्रालिका सञ्चालक हुन् । हव रिक्रुटमेन्ट भने नवीकरण नभएको बुझिएको छ । देहत्यागअघि व्यवसायी डाँगीले लेखेका थिए– ‘कामहरू कमै भयो, भोगाइहरू धेरै रह्यो, साथहरू धेरै पाइयो, विश्वास धेरै गुमाइयो । यो साल जीवनकै टफ रह्यो ।’

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलन, त्यसपछि नेपाली कामदारमाथि अन्तर्राष्ट्रिय स्तरमा बढेको आशंका, त्यसपछि अमेरिका–इरान युद्धले सिर्जना गरेको तनाव र रोजगारी कटौती, साथै पछिल्लो समय नेपाल सरकारले सुरु गरेको दबाब र धरपकडका कारण व्यवसायी डाँगीले लेखेजस्तै धेरैजसोका लागि यो साल ‘टफ’ नै देखिएको छ ।

निजी क्षेत्रको तीन दशकभन्दा लामो अनुभव र ४ खर्बभन्दा बढीको प्रत्यक्ष लगानी रहेको वैदेशिक रोजगार क्षेत्रमा सरकारको नियन्त्रणमुखी एकपक्षीय दृष्टिकोण परिवर्तन नभए सुरुवातमा व्यवसायीका लागि ‘टफ’ अर्थात् पीडादायी बनेको अवस्था अन्ततः रेमिट्यान्स घट्दै जाँदा सरकारकै लागि पनि ‘टफ’ बन्न सक्ने धेरैको भनाइ छ ।