धुलाबारी ।
मेचीनगर–९ स्थित कवि शिरोमणि माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कार्यक्रम अन्तर्गत २०६६ सालदेखि २०८२ साल चैत मसान्तसम्म विद्यालयमा माध्यमिक शिक्षक पदमा रही सेवा प्रदान गरेका शिक्षक रुद्रप्रसाद संग्रौलाको औपचारिक बिदाइ गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले उनलाई कुशल, कर्तव्यनिष्ठ, जिम्मेवार, लगनशील तथा बहुआयामिक व्यक्तित्वका रुपमा स्मरण गर्दै विद्यालयको शैक्षिक विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
त्यसैगरी, समाज सुधार महिला समूहको आयोजनामा विद्यार्थी केन्द्रित सामाजिक सञ्जालको दुरुपयोग रोकथाम सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सामाजिक सञ्जालको सकारात्मक प्रयोग, साइबर अपराधबाट बच्ने उपाय तथा विद्यार्थीको जिम्मेवार डिजिटल व्यवहारबारे जानकारी दिइएको थियो ।
यसै अवसरमा मेचीनगर नगरपालिकाद्वारा प्रदान गरिएको वीरेन स्मृति छात्रवृत्ति तथा वडा नं. ९ कार्यालयबाट प्राप्त गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए । छात्रवृत्तिले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमकै क्रममा सम्पन्न आम अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि चार जना अभिभावक सदस्य चयन गरेको छ । भेलाबाट कुमारी दनुवार, रिना कोइराला, फुलमाया लामा र सिंहबहादुर मेयाङ्वो चयन भएका छन् ।
केही दिनमै संयुक्त बैठक बसेर चार जना मध्ये एकलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिने बताइएको छ । यस्तै, भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा डिल्लीराम प्रसाईसहित कार्यसमितिका लागि नौ जना अभिभावक सदस्यहरुलाई सर्वसम्मत चयन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा मेचीनगर सामाजिक विकास समितिका संयोजक हृदय राजवंशी, मेचीनगर वडा नं.९ का वडा अध्यक्ष कञ्चन तामाङ, शिक्षक अभिभावक संघका अध्यक्ष चुडामणि रेग्मी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तुलसा दंगालले गरेकी थिइन् ।


















