झापा । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले रोमानियाको भिसा लगाइदिने भन्दै लगिँदै गरिएका विभिन्न व्यक्तिका ३७ वटा राहदानीबारे छानबिन भइरहेको जनाएको छ । प्रहरीले ती राहदानी बोकेर भारत जान लागेका सिरहा, धनगढीमाई नगरपालिका–१३ का अजित श्रेष्ठलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । विमानस्थलबाट थप अनुसन्धानका लागि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएपछि अनुसन्धान सुरु गरिएको प्रहरी प्रहरीले जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त राहदानी सामाखुसीस्थित एक म्यानपावर कम्पनीमार्फत भारत लगिँदै गरेको जानकारी आएको र केही राहदानी विद्यार्थीको समेत रहेको जानकारी प्राप्त भएको जनाएको छ । पक्राउ परेका व्यक्तिले म्यानपावर कम्पनी सञ्चालकको नाम लिएपछि प्रहरीले उक्त कम्पनीका सञ्चालकलाई छलफलका लागि टेकु बोलाएको थियो । तर उनी कार्यालय समयभित्र उपस्थित नभएकाले बुधबार उनीसँग बुझेर मात्रै म्यानपावर कम्पनीको नाम सार्वजनिक गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठले केहि वर्ष यता बिभिन्न म्यानपावर कम्पनीका लागि दिल्लीमा गएर युरोपेली मुलुकहरुका लागि भिसा प्रोसेसिंग लगायतका काम गर्दै आएका थिए । 

प्रहरीले राहदानीवाहकहरूलाई आफ्नो राहदानी बुझ्नका लागि सम्पर्कमा आउन सूचना पठाएको पनि जनाएको छ । प्रहरी राहदानी खोज्दै आउने युवायुवतीबाट सूचना लिएर थप अनुसन्धान अघि बढाउने तयारीमा रहे पनि मंगलबारसम्म कसैको जाहेरी वा उजुरी नपरेको बताइएको छ । युरोपेली युनियन ९इयू० अन्तर्गत रहेको रोमानिया नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिन्छ । न्यूनतम मासिक तलब ६ सय युरो अर्थात् करिब ७९ हजार नेपाली रुपैयाँ हुने रोमानियामा नेपालीहरू होटल, निर्माण, उद्योग, कृषि र पशुपालनजस्ता क्षेत्रमा काम गर्ने गरेका छन् ।

नेपालमा रोमानियाको राजदूतावास तथा कन्सुलर कार्यालय नभएकाले नेपालीहरू भारतको नयाँदिल्लीस्थित कन्सुलर कार्यालय जानुपर्ने बाध्यता छ । वैदेशिक रोजगारका लागि रोमानिया जान १० लाख रुपैयाँसम्म असुल्ने गरिएको कतिपयको दाबी छ । तर त्यस्तो दाबी गर्नेहरूले रकम तिरेको कुनै प्रमाण भने देखाउन सकेका छैनन् । रोमानियाको रोजगारीमा म्यानपावर कम्पनीभन्दा एजेन्टहरू बढी सक्रिय रहेको बताइएको छ ।