झापा ।
वैशाख महिनामा वैदेशिक रोजगारीका लागि ७४ हजार ४ सय २९ बिदेशिएका छन् । चैतमा ६१ हजार ८ सय १९ जना नेपाली वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएको थिए भने वैशाखमा ७४ हजार ४ सय २९ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । चैतको तुलनामा वैशाखमा वैदेशिक रोजगारमा जानेको संख्या १२ हजार ६ सय १० जना बढी हो ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैशाखमा म्यानपावर कम्पनीबाट २६ हजार ४ सय ३३ जनाको श्रम स्वीकृति भएको छ । त्यसमा मलेसिया ९ हजार ९ सय १५, युएई ५ हजार ९ सय १, साउदी अरेबिया ३ हजार ९ सय १४, कतार २ हजार ६ सय ६५ जना गएका छन् । त्यस्तै साइप्रसमा १ हजार, कुवेतमा ९ सय ३२, ओमानमा ७ सय ६७, जोर्डनमा ४ सय ७, बहराइनमा ३ सय ५२, जापानमा २ सय ५८ र मरिससमा २ सय ४८, मंगोलियामा ४९ र माल्दिभ्समा २५ जना गएका छन् ।
वैशाखमा म्यानपावर र व्यक्तिगत नयाँ गरी ४१ हजार ३ सय २४ जना, रिइन्ट्रीका माध्यमबाट ३३ हजार १ सय ५, वैधानिकीकरणबाट १ सय ३६ र जीटुजीका माध्यमबाट ६ सय २३ जना गएका छन् । वैशाखमा १ सय ३ मुलुकमा नेपाली कामदार गएको भएपनि म्यानपावर कम्पनीले १३ मुलुकमा मात्रै कामदार पठाउन सकेका छन् ।
२०८२ सालको वैशाखमा म्यानपावर कम्पनीबाट ३३ हजार ११ जनासहित व्यक्तिगत नयाँ गरी ४७ हजार ८ सय ३३ जना गएका थिए । यस वर्षको वैशाखमा उक्त संख्या ४१ हजार ३ सय २४ जना छ । यो तथ्यांकले नयाँ रोजगारीमा जानेको संख्यामा कमी आएको र रिइन्ट्रीका माध्यमबाट जानेको संख्या बढेको देखाएको छ । गत वर्षको वैशाखमा रिइन्ट्रीका माध्यमबाट ३० हजार ६ सय ६२, जीटुजीका माध्यमबाट १ हजार ५ जना गएका छन् ।
वैशाखमा १ सय ३ मुलुकमा नेपाली कामदार गएको भएपनि म्यानपावर कम्पनीले १३ मुलुकमा मात्रै कामदार पठाउन सकेका छन् । युरोपेली मुलुकमा रहेको मागपत्र प्रमाणीकरणको झन्झटले संस्थागत रूपमा जाने क्रम कमजोर बनेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।


















