बिर्तामोड l

नेपाल जेसीजको नियमित कार्यक्रम अन्तर्गत बर्ष 2026 का राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराई को शाखा भ्रमण कार्यक्रम वीरता जेसीज सचिवालयमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व वीरता जेसीज बर्ष 2026 का अध्यक्ष लोक चन्द्र श्रेष्ठ ले गर्नुभएको थियो। कार्यक्रम संयोजक सुमन पोद्दार ले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने उपाध्यक्ष नवराज भट्टराईले जेसी आस्था वाचन गरेका थिए l

कार्यक्रमका प्रमुख अतिथि अनिश भट्टराई ले वीरता जेसीजले युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, तालिम तथा सहकार्यका क्षेत्रमा निरन्तर गर्दै आएको योगदानको प्रशंसा गर्दै शाखाले आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड  दिए।

विशिष्ट अतिथिका रुपमा वीरता जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्षद्वय घनश्याम चौधरी र बिशाल थापा को गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी युवा व्यवसायी बिक्की चौधरी तथा पत्रकार तुलसी निरौला लगायतको उपस्थिति रहेको कार्यक्रमले थप उत्साह प्रदान गरेको थियो।

कार्यक्रममा वीरता जेसीजले जनवरी 2026 देखि हालसम्म सञ्चालन गरेका विभिन्न सामाजिक, नेतृत्व विकास तथा संस्थागत गतिविधिहरुको प्रतिवेदन राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराई समक्ष हस्तान्तरण गरिएको थियो। प्रतिवेदनमा शाखाले सञ्चालन गरेका विविध कार्यक्रम, सहभागिता तथा आगामी योजनाहरु समेटिएका थिए।

कार्यक्रममा वक्ताहरुले “Together We Can” को भावनालाई आत्मसात गर्दै युवाशक्तिलाई सकारात्मक नेतृत्वमा रुपान्तरण गर्न वीरता जेसीजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।