शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाले सडकपेटी अतिक्रमण गरी राखिएका सामग्री हटाउने भएको छ । नगरले शनिश्चरे बजार क्षेत्रमा रहेका केही व्यवसायिक पसलहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा सडकपेटीमा (फुटपाथमा) समेत विभिन्न सामाग्रीहरु राखेर सडकपेटीमा अतिक्रमण गरेको पाइएकाले हटाउन लागिएको नगरले सूचना जारी गरी जानकारी दिएको हो ।
सडकपेटी अतिक्रमण गरी राखिएका सामग्री कारण सर्वसाधारण नागरिकको आवागमनमा बाधा उत्पन्न भएको, बजार क्षेत्रको सौन्दर्यमा नकारात्मक असर परेको तथा दुर्घटनाको जोखिम समेत बढेको भन्दै नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
सार्वजनिक सडक तथा सडकपेटी नागरिकहरूको सुरक्षित आवतजावतका लागि प्रयोग हुने सार्वजनिक सम्पत्ति भएकाले कुनै पनि व्यक्ति वा व्यवसायीले सडकपेटी ओगटेर व्यवसाय सञ्चालन गर्न नपाइने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ ‘शनिश्चरे बजार क्षेत्रमा सडकपेटी अतिक्रमण गरी राखिएका सम्पूर्ण सामग्रीहरु (बोर्ड, स्ट्यान्ड, टहरा) लगायतका संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र अनिवार्य रूपमा हटाई सडकपेटी खाली गर्न सम्बन्धित सबै व्यवसायीहरूमा जानकारीको लागि अनुरोध छ ।, अन्यथा तोकिएको समय भित्र अटेर गरी सामग्री नहटाएमा प्रचलित कानून बमोजिम नगरपालिकाबाट सामग्री हटाउने कार्य गरिने तथा त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यवसायी स्वयंवाट असुल गरिने’ प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।



















