बिर्तामोड । 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ सुरु भएको छ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रतियोगिताको उद्घाटन गरेकी छिन् । 

आज र भोलि अर्थात जेठ १ र २ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका प्रतिभावान खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ ।स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउने र खेलकुदको माध्यमबाट नगरलाई चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख प्रसाईले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै आफ्नो जिम्मेवारी पूरा गर्न प्रेरणा प्रदान गर्ने बताइन् । मार्सल आट्र्सका विधाहरू कराते र किक बक्सिङले व्यक्तिमा आत्मविश्वास भर्ने चर्चा गर्दै उनले खेलमा हार र जितभन्दा पनि अनुशासन र हिम्मत ठूलो कुरा भएको उल्लेख गरिन् । ‘प्रतियोगितामा चुनौतीहरू त अवश्य हुन्छन्, तर हिम्मत नहारी अगाडि बढ्ने हो भने सफलता निश्चित छ’ नगर प्रमुख प्रसाईले भनिन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर खेलकुद विकास समितिका सदस्य रमेश उप्रेतीले वडा स्तरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रका लागि उत्कृष्ट खेलाडीको रूपमा उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए । कराँते र किक बक्सिङ जस्ता खेलहरू प्रतिरक्षात्मक विधा भएकाले व्यक्तिगत सुरक्षा र स्वस्थ जीवनयापनका लागि यसको ठूलो महत्व रहेको उनको भनाइ थियो।

त्यसैगरी विशिष्ट अतिथि भलिवल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काले नगरपालिकाले नगरभित्रका स्थानीय खेलाडीहरूको उन्नयन र वृत्ति विकासका लागि विभिन्न चरणमा फरक–फरक प्रतियोगिताहरू आयोजना गर्दै आएको बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार र तृतीय स्थान हासिल गर्नेले नगद १५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेप्रतियोगिताका संयोजक सुदीप खवासले बताए । 

उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फका एक–एक जना ’बेस्ट फाइटर’लाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव विशन लिम्बूले गरेका थिए । 

करिब ६ लाख रुपैयाँको लागतमा सम्पन्न हुन लागेको  प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । शनिबारसम्म चल्ने यस प्रतियोगिताले बिर्तामोडमा खेलकुदको माहोल थप तताएको छ भने खेलाडीहरूमा नयाँ उत्साह सञ्चार गरेको छ ।