हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामाग्री वितरण गरेको छ । करूणा फाउन्डेशन, हल्दीबारी गाउँपालिका तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित –अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ अन्तर्गत सहायक सामाग्री वितरण गरिएको हो ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी उनीहरूको दैनिक जीवन सहज बनाउन सामाग्री वितरण गरिएको जनाएको छ । कार्यक्रममार्फत ७१ जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अवस्था र आवश्यकताका आधारमा विभिन्न प्रकारका सहायक सामाग्री उपलब्ध गराइएको महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिइन् ।
उनका अनुसार लाभग्राहीहरूलाई व्हिलचेयर, सिपी व्हिलचेयर, छडी, श्रवणयन्त्र, उभिने फ्रेम, शौचालय कुर्सी, वाकर, डाइपर, प्याड तथा फ्रस्टेड लगायतका सहायक सामाग्री वितरण गरिएको हो । यस्ता सामाग्रीले अपाङ्गता भएका व्यक्तिहरूको हिँडडुल, दैनिक कार्य सम्पादन तथा स्वास्थ्य सुरक्षामा सहजता ल्याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन (महेन्द्र ), वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, विभिन्न शाखाका शाखा प्रमुखहरू, अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वा, लाभग्राही तथा अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


















