झापा । 

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेडेड अर्थात अनुत्तीर्ण भएकाहरुका बिद्यार्थीले आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने भएका छन् ।   यसवर्ष एसइईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको बोर्डका परीक्षाले जनाएको छ । 

यसवर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको र एक लाख ४६ हजार ५०७ ननग्रेडेड भएका परिक्षा बोर्डले जनाएको छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरे पनि परीक्षामा भने चार लाख ३० हजार ६६७ जना सहभागी भएका थिए । 

ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डले एसइईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ ।

नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि जेठ १ गतेदेखि ७ गतेसम्मको समय निर्धारण गरिएको छ ।  गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने २९ दिनमा नतिजा सार्वजनिक भएको थियो ।

सोमबार सार्वजनिक गरेको एसइईको नतिजामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको र यो नतिजा गत वर्षभन्दा ४ दशमलव १७ प्रतिशतले वृद्धि भएको भएको बताइएको छ ।