झापा ।
वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा छ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा देखाएर विभिन्न देश पठाउने बहानाबनाएर ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका–३० बस्ने नवलपरासी पूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् ।
पक्राउ परेका मध्ये शैलेन्द्रले सर्बिया, स्लोभाकियालगायतका देश पठाउने भन्दै १३ जनाबाट ३५ लाख ७० हजार, सुमनाले युएई पठाइदिने भन्दै एक जनाबाट दुई लाख ८२ हजार, विकासले स्पेन पठाउने भन्दै १० जनाबाट १० लाख, बासुदेवले क्यानडा पठाउने भन्दै एक जनाबाट सात लाख ५० हजार, धनबहादुरले दक्षिण कोरिया पठाउने भन्दै एक जनाबाट दुई लाख र नौमायाले साइप्रस पठाइदिने भन्दै छ लाख चार हजार ५०० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौमायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


















