झापा । 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको र जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा पनि भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।   बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लाहरूमा हावाहुरी, असिना र चट्याङ्गको पनि सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।