हल्दीबारी ।

विश्व रेडक्रस दिवसको अवसरमा ढडुवा युवा क्लब परिवारद्वारा ढडुवा बजारमा आयोजित दीप प्रज्वलन कार्यक्रम भव्य तथा भावनात्मक वातावरणमा सम्पन्न भएको छ। ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने सन्देश प्रवाह गर्दै आयोजित कार्यक्रममा स्थानीयवासी, युवायुवती, बालबालिका तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

क्लबका संयोजक चिरन ढुंगेलको संयोजकत्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिका वडा नं.३ का वडाध्यक्ष विष्णुप्रसाद ओली रहेका थिए । उनले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । शुभकामना मन्तव्यका क्रममा वडाध्यक्ष ओलीले रेडक्रसले विश्वभर मानवताको पक्षमा खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै सेवाभाव, सहयोग र मानवीय संवेदनालाई जीवनको मूल मन्त्र बनाउन आग्रह गरे।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका जिल्ला सदस्य कर्णखर प्रसाईं, नेपाल रेडक्रस सोसाइटी हल्दीबारी गाउँपालिका तदर्थ समितिका अध्यक्ष रेमप्रसाद खरेल, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा आचार्य, जलथल प्रहरी चौकीका इन्चार्ज संजीव चौधरी, शुभ प्रभात कृषि सहकारी संस्थाका उपाध्यक्ष गोविन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडकर्मी कर्णखर प्रसाईं र रेमप्रसाद खरेलले रेडक्रस केवल संस्था नभई मानवताको अभियान भएको उल्लेख गर्दै दुःख, पीडा र विपद्को समयमा निस्वार्थ सेवा नै साँचो धर्म भएको धारणा व्यक्त गरे । उनीहरूले युवापुस्तालाई समाजसेवा र मानवीय कार्यमा सक्रिय हुन प्रेरित समेत गरेका थिए ।

दीपको उज्यालोसँगै मानवता, सहकार्य र सेवाभावको सन्देश फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय बालबालिका, ढडुवावासी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण ढडुवा युवा क्लबका सचिव अभिषेक खतिवडाले गरेका थिए ।