झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई विमानस्थलमा १७ वटा प्रश्न सोधेर पठाउने गरिएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा मन्त्री यादवले उक्त जानकारी दिएका हुन् ।
जसमध्ये धेरैले उत्तर दिन चाहेको र उत्तर दिएकामध्ये ३८ प्रतिशत व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको भेटिएको उनको भनाइ छ । मन्त्री यादवले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउँदै आफू मन्त्री भए यता २५ दिनभित्रमा वैदेशिक रोजगार विभागमा ४० हजार उजुरीमध्ये १३ हजार उजुरीको डिजिटलाइजेसन गर्ने तयारी गरेको र आठ हजार उजुरी डिजिटलाइजेसन भइसकेको बताएका छन् । यसैका लागि मन्त्रालयले १० जना अनुसन्धान अधिकृतको माग गरेको उनले बताए । २७ हजार उजुरीमध्ये केही जेनजी आन्दोलनमा जलेको उनको भनाइ थियो ।
मन्त्रालयले अव सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको उनले जानकारी पनि दिए । आगामी साताभित्रै यो व्यवस्था लागू हुने उनको भनाइ थियो । त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेल्लो सरकारबाट र ह्वाट्सएपबाट आएको गुनासोका आधारमा मन्त्रालयले २५ दिनभित्र १ सय ७८ जनालाई उद्धार गरेको उनले बताए । २५ दिनमा ९ जना ठगी गर्नेलाई कारबाही गरेको, तर वैदेशिक रोजगारमा ठगी गर्नेको ‘कनेक्सन’ नै भेटाउन चुनौती रहेको मन्त्री यादवले बताए ।
अहिले १३ देशसँग मात्र द्विपक्षीय श्रम सम्झौता भएपनि १ सय ७८ देशमा नेपाली श्रमिक पुगेका छन् । मन्त्री यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको जानकारी दिए ।

















