झापा ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिससम्बन्धी निर्णयका लागि सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ । यसअघि नै न्याय परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा अब यसबारे औपचारिक निर्णय हुन लागेको हो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै उक्त पदका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो। राउतको अवकाशपछि हाल सपना प्रधान मल्ल कामु प्रधान न्यायाधीश छिन् ।
संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ । उक्त उपधारा अनुसार नै तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशको नाम परिषद्ले सिफारिस गरेको हो । संवैधानिक परिषद्को बैठक बसिरहँदा प्रधानन्यायाधीश को बन्ला भन्ने चासो सर्वत्र छ ।
















