बिर्तामोड।

बिर्तामोडस्थित मनकामना आइसक्रिम उद्योगका सञ्चालक पदम बुढाथोकीलेले पत्रकार सहारा उपचार कोषलाई एक लाख २१ हजार एक सय पाँच रुपैयाँ सहयोग प्रदान गरेका छन् । झापाका पत्रकारहरुको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि बुढाथोकीले सो रकम प्रदान गरेका हुन् ।

पत्रकार महासंघ झापाको वार्षिक साधारणसभा उद्घाटन समारोहमा महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई मनकामना आइसक्रिम उद्योगको तर्फबाट एक लाख एक सय पाँच रुपैयाँ हस्तान्तरण गरिएको हो । बुढाथोकीले यसअघि कोषमा २१ हजार रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका कार्यवहाक अध्यक्ष दीपक आचार्यले मनकामना आइसक्रिम उद्योगका सञ्चालक बुढाथोकीको सामाजिक कार्यको प्रशंसा गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

मनकामना आइसक्रिम उद्योगका सञ्चालक बुढाथोकीले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा यस वर्ष पत्रकार महासंघ झापाको पत्रकार सहारा उपचार कोषमा सहयोग गरेको बताए । बुढाथोकीले पत्रकारको दीगो हितमा पत्रकार महासंघ झापाले अनुकरणीय काम गरेको बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष दुई करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषमा हाल एक करोड २५ लाख रुपैयाँ जम्मा भइसकेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा ५० हजार रुपैयाँसम्म उपचार सहयोग प्रदान गरिँदै आएको छ । त्यस्तै ६५ वर्ष उमेरमाथिका ज्येष्ठ पत्रकारलाई वार्षिक रुपमा पेन्सन स्वरुप नियमित औषधोपचार खर्च उपलब्ध गराइदै आएको छ । त्यसैगरी पत्रकार महिला सुत्केरी हुँदा २५ हजार रुपैयाँ सुत्केरी राहत, पत्रकारको परिवारमा मरिमराउ हुँदा ११ हजार रुपैयाँ सरहे, पत्रकारको मृत्यु भएमा परिवार राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गरिदै आएको अध्यक्ष गिरीले जानकारी दिए ।  

कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । पत्रकार तथा अन्य क्षेत्रका दाताहरुले जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई दुई करोड रुपैयाँ बनाउन सहयोग पुग्ने बताइएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न पत्रकार महासंघ झापा शाखाले आव्हान गरेको छ ।