बिर्तामोड । 

युनिक मेशिनरी ट्रेडर्सका सञ्चालक तथा सामाजिक व्यक्तित्व बिपिन बजगाँईले नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित सहारा पत्रकार उपचार कोषमा एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । 

बजगाँईले आज (सोमवार) बिर्तामोडमा आयोजित  पत्रकार महासंघ झापाको बार्षिक साधारणसभाका अवसरमा कोषमा एक लाख रुपैयाँ प्रदान गरेका हुन् भने यसअघि ५१ हजार रुपैयाँ प्रदान गरेका थिए । 

बजगाँई र उनका छोरा विमान बजगाँईले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

यसैगरी सोही अवसरमा बिपिन बजगाँई र उनकी धर्मपत्नी बिनिता बजगाँईले स्थापना गरेको केदार तथा मनमाया स्मृति प्रतिष्ठान बिर्तामोडले लैङ्गिक हिंसा बिरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सोही क्रममा आज साधारण सभाको अवसरमा गृष्मा सापकोटालाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । 

उक्त पुरस्कारबाट यसअघि इन्दु पूर्वेली, रेजिना गौतम, लीला अनमोल पुरस्कृत भएका बजगाँईले जानकारी दिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका कार्यबहाक अध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्य रहेको थियो ।