झापा ।
मलेसियामा रहेका नेपाली सेक्युरिटी गार्डले बिदा नपाएको भन्दै गुनासो गरेका छन् । नेपालसहित विश्वभर शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइए पनि मलेसिया गएका नेपाली कामदारले भने त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका हुन् ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरूको बैठकको निर्णयानुसार सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।
शुक्रबार मलेसियास्थित नेपाली दूतावासले सञ्चालन गरेको साप्ताहिक फेसबुक कार्यक्रममा सुरक्षागार्डको रूपमा कार्यरत नेपालीहरूले नेपाली दूतावासले सेक्युरिटी कम्पनीमाथि पर्याप्त अनुगमन नगर्दा आफूहरूले समस्या झेल्नु परेको गुनासो गरेका छन् ।
रोजगारीका लागि मलेसिया गएका रामसेवक मण्डलले आफू मासिक २ हजार ४ सय ५० रिंगेटको करारमा आएको, तर १ हजार ९ सय मात्रै पाएको गुनासो गरे । मण्डलजस्तै गुनासो टिपाउने अन्य नेपाली कामदारहरूले नेपाली दूतावासमाथि अभिभावकीय भूमिका नखेलेको गुनासो गरे ।
कार्यक्रम सञ्चालन गरेका काउन्सिलर श्रम कृष्णप्रसाद भुसाल नेपाली दूतावासले समस्या समाधानको पहल गरेको, तर क्षेत्र ठुलो भएका कारण एकैपटक समस्या समाधान गर्न नसकिएको बताए । उनले नेपाली सुरक्षागार्डहरूले झेल्नुपरेको समस्याको अध्ययन गर्दा प्रमुख तीन समस्या पहिचान गरेको पनि बताए । उनले भने, ‘कतिपय नीतिगत समस्या छन्, कम्पनीअनुसार फरकफरक समस्या देखिन्छन् र नेपाल–मलेसियाबीचको श्रम सम्झौताका माध्यमबाट नै समाधान गर्नुपर्ने प्रकृतिका समस्या पहिचान गरेका छौं ।
मलेसियामा सेक्युरिटी कम्पनीले ओभरटाइम काममा लगाएमा अन्य क्षेत्रमा जस्तो अतिरिक्त तलब सुरक्षागार्डलाई नदिने समस्या प्रमुख समस्याको रूपमा रहेको छ । सुरक्षागार्डले १२ घण्टा काम गर्नुपरेको भएपनि तलब कम छ । काउन्सिलर श्रम भुसालले भने, ‘अतिरिक्त समय काम गराउने, तर तलब कम दिने समस्या छ । यस विषयमा मलेसिया सरकारसँग छलफल जारी छ ।’
काउन्सिलर श्रम भुसालका अनुसार नेपाली दूतावासले न्यूनतम १ हजार ७ सय रिंगेट तलबको बैंक ट्रान्सफरको स्लिप, सामाजिक सुरक्षा कोष र सेवा सुविधा सुनिश्चित नगरेसम्म मागपत्र प्रमाणीकरण गर्ने गरेको छैन । ‘यसबाट पनि केही कम्पनी समस्या समाधानका लागि दबाबमा परेका छन्,’ उनले भने । भुसालले मलेसियामा नेपाली सुरक्षागार्डहरूले बढेको तलब नपाउने समस्या समाधान गर्न नेपालमा रहेका म्यानपावर कम्पनीहरू पनि जिम्मेवार हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।


















