झापा ।

 वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि सेवा शुल्क बैंकिङ प्रणालीबाट गर्नुपर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था अर्थात् म्यानपावर कम्पनीलाई प्रचलित कानुनबमोजिम बुझाउनुपर्ने सेवा शुल्कबापतको रकम अनिवार्य रूपमा बैंकिङ माध्यमबाट प्रयोजन खुलाएर बुझाउनुपर्ने विभागको निर्देशन छ ।

सेवा शुल्कबापत रकम बुझाएको प्रमाण, कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रूपमा राख्न पनि विभागले आग्रह गरेको छ ।

विभागले नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्‍याउन कठिन हुने भएकाले कुनै पनि इजाजतपत्रवाला संस्था, संस्थाका सञ्चालक, संस्थासँग आबद्ध कर्मचारी, ऐजेन्ट वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारीमा जानका लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्न–नगराउन पनि आग्रह गरेको छ ।

विभागले इजाजतपत्र प्राप्त संस्था अर्थात् म्यानपावर कम्पनीले नगद कारोबार गर्न नहुने भन्दै गरेकोे खण्डमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।