झापा ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज झापासहित देशैभरका मजदुरहरुले प्लेकार्ठसहित र्याली, कोणसभालगायतका कार्यक्रम गरेर मनाउने गरेका छन् ।
आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदूरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गर्दै विश्वभरका श्रमिकहरूले यो दिवस मनाउँदै आएका छन्। यस अवसरमा नेपालमा पनि श्रमजीवी वर्गले ऐक्यबद्धतासहित यो दिवस मनाउँदै छन् ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।
नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुम्बासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् ।
साथै श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति गम्भीर ध्यानाकर्षण भएको नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले एक बिज्ञप्ति जारी गर्दै जनाएका छन् ।
यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बनोस् भन्दै उनले नेपाल तथा विश्वभरिका सम्पूर्ण श्रमजीवी वर्गप्रति पुनः सम्मान, ऐक्यबद्धता र हार्दिक शुभकामना व्यक्त गरेका छन् । यसै अवसरमा आज बिर्तामोडमा पनि श्रमिकहरुले बिभिन्न कार्यक्रम गर्ने बताइएको छ ।


















