झापा  । 

झापाको कचनकवल गाउँपालिका–३ दल्कीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जन विद्यार्थी घाइते भएका छन् । आज (बिहीवार) बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी माध्यमिक विद्यालयको बसले घरबाट सडकमा निस्किएको प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा बसमा सवार करिब १८–२० जना विद्यार्थी मध्ये एक दर्जन विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते हुने विद्यार्थीहरूमा कचनकवल–३ का शिबनारायण राजवंशीका छोरा १२ बर्षीय अभिषेक राजवंशी, सोही स्थानका खगेन्द्र राजवंशीका छोरा ९ बर्षीय अर्जुन राजवंशी, गुन्धर राजवंशीका छोरा ११ बर्षीय धर्मेन्द्र राजवंशी, पदमबहादुर श्रेष्ठकी छोरी ७ बर्षीया खुश्बु श्रेष्ठ, हेमबती राजवंशीका छोरा ९ बर्षीय करण राजवंशी, गीता राजवंशीकी छोरी १० बर्षीया प्रतिक्षा राजवंशी छन् । 

यसैगरी हेलन राजवंशीकी छोरी ५ बर्षीया बरटिका राजवंशी, जसोदा राजवंशीका छोरा ४ बर्षीय सुमन राजवंशी, दिपेन राजवंशीकी छोरी ८ बर्षीया श्रृजना राजवंशी, तत्काल अभिभावकको नाम नखुलेको ४ बर्षीय दिपेन राजवंशी रहेका छन् । दुईजना विद्यार्थीलाई अभिभावक आफैले उपचार गर्न अन्यत्र लगेको प्रहरीले जनाएको छ । 

अधिकांश विद्यार्थीलाई सामान्य चोटपटक लागेको र अवस्था खतरा बाहिर रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड ल्याइएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।दुर्घटनापछि फरार भएका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरी चौकी पथरियाले नियन्त्रणमा लिएको छ ।