झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिमा देखिएको असमझदारी अन्त्य गर्न संघका पूर्वअध्यक्षहरू सक्रिय भएका छन् । वैदेशिक रोजगार क्षेत्र नै संकटमा रहेको अहिलेको अवस्थामा संघलाई बलियो बनाउन जरुरी रहेको भन्दै पूर्वअध्यक्ष प्रेमबहादुर कटुवाल, रोहन गुरुङलगायतका पूर्वअध्यक्षहरूले छलफल गरिरहेका छन् ।

पूर्वअध्यक्ष गुरुङले आफूहरूले संघका अध्यक्ष भुवनसिंह गुरुङसहित अध्यक्ष गुरुङको कार्यशैलीको विरोध गर्दै राजीनामा घोषणा गरेका प्रथम उपाध्यक्षसहित अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको भनाइलगायतका विषयमा दुवै पक्षसँग छलफल गरेको बताए ।

छलफलमा अध्यक्ष गुरुङले आफ्नो कुनै स्वार्थ नरहेको भन्दै सल्लाहकारहरू हटाउने निर्णय फिर्ता लिएर सबैलाई मिलाएर जान समस्या नरहेको बताएका थिए । कार्यसमिति यथावत् राख्दै अध्यक्ष गुरुङको संयोजकत्वमा पूर्वअध्यक्षहरू सहसंयोजक रहने गरी एउटा स्टेरिङ कमिटी गठन गरेर जाने विषयमा पनि छलफल भई सहमतिको चरणमा पुगेको बताइएको छ ।

उता अध्यक्ष गुरुङले गत सोमबार असन्तुष्ट पक्षले दिएको राजीनामा अस्वीकृत गरेको बताए । उनले भने, ‘संघको विधानमा भएको व्यवस्थाबमोजिम साथीहरूको राजीनामा अस्वीकृत गरी साथीहरूलाई क्षमता अनुसारको जिम्मेवारी लिन आग्रह गरेको छु । दुईवर्षे कार्यकालमध्ये एक वर्षे कार्यकाल समाप्त भइसकेकाले बाँकी रहेको छोटो समयमा मिलेर जान सबैलाई आग्रह गरिरहेको छु ।’

अध्यक्ष गुरुङले बुधबार बिहान पूर्वअध्यक्ष र घटक संस्थाका प्रतिनिधिबीच भएको छलफलमा पनि संघको अध्यक्षको नेतृत्वमा सरोकारवाला निकायमा डेलिगेसन गएर समस्याहरूका बारेमा ध्यानाकर्षण गराई समाधान खोज्ने र संघलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको बताएका छन् ।

अध्यक्ष गुरुङले सल्लाहकारद्वय नवराज केसी र धनलाल जैसीलाई पदमुक्त गरेपछि अध्यक्ष गुरुङको कार्यशैलीमा प्रश्न उठाउँदै सोमबार प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले राजीनामा दिएका थिए ।

अध्यक्ष गुरुङले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा त्यसको जवाफ दिएका छन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले संघको विधान झिकाएर विवादका विषयमा अध्ययन गरिरहेको बताएका छन् ।